२०८३, कार्तिक १३ गते शुक्रबार

बास बस्ने पर्यटकको कमी

बास बस्ने पर्यटकको कमी


  • मेरोभ्यूज
  • पौष १८, २०८१ बिहीबार

  • बास बस्ने पर्यटकको कमी

    दमौली, तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

    बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा यहाँ आउने आन्तरिक पर्यटक बढेपनि बास बस्नेको सङ्ख्यामा कमी आएको हो ।

    बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बास बस्ने गरी आउने पर्यटक कम भएपनि घुमघाम गरेर सोही दिन फर्किनेको सङ्ख्या भने उल्लेख्य रहेको जानकारी दिए ।

    उनले भने, “बास बस्ने गरी आउने पर्यटक ‘प्याकेज’मा आउँछन् । घुमघामका लागि आउनेहरू दिनभर घुमेर साँझ फर्किने गरेका छन् ।” यतिबेला बन्दीपुरमा दैनिक पाँच सयभन्दा बढी पर्यटकको आगमन भइरहेको उनको अनुमान छ । सार्वजनिक बिदा र शनिबारका दिनमा भने पर्यटकको सङ्ख्या अझै बढी हुने उनले बताए ।

    बन्दीपुरमा विदेशी पर्यटकको आगमन पनि उल्लेख्य भइरहेको समितिका अध्यक्ष प्रधानले बताए । उनका अनुसार अन्य मुलुकभन्दा चीनका पर्यटक बढी आउने गरेका छन् ।

    साथै जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि आउने गरेका तथ्याङ्क समितिमा रहेको उनले जानकारी दिए ।

    ‘बन्दीपुर भ्रमण वर्ष-२०२५’का संयोजक वैश गुरुङले गाउँपालिकाको पहलमा यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन एक वर्षभरि विविध कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

    उनले भने, “बन्दीपुर भ्रमण वर्ष घोषणा गरी यहाँ धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अभियानमा लागेका छौँ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यहाँ विशेष कार्यक्रम छ ।”

    बन्दीपुर भ्रमण वर्ष–२०२५ को अवसरमा यहाँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचार-प्रसार गर्ने लक्ष्य लिइएको संयोजक गुरुङले बताए ।

    भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षण केन्द्रबिन्दु बन्ने गरेको उनले उल्लेख गरे ।

    सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमीको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।

    प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ पर्यटकको आकर्षण बढेको संयोजक गुरुङले बताए ।


    प्रकाशित : बिहीबार , पौष १८ २०८११०:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार