कैलाली । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कैलालीले चालु आर्थिक वर्षमा जिल्लाका एक लाख ५९ हजार पशुमा खोरेत रोगको खोप लगाएका छन् ।
जिल्लाका १३ वटै स्थानीय तहका गाईभैँसी, बाख्रा र बङ्गुरलगायतका पशुमा उक्त खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिकाका १३ हजार एक सय ४९, गोदावरी नगरपालिकाका १३ हजार तीन सय, गौरीगङ्गा नगरपालिकाका सात हजार दुई सय ९१, घोडाघोडी नगरपालिकाका सात हजार तीन सय ५६, लम्किचुहा नगरपालिकका नौ हजार नौ सय ६१, टिकापुर नगरपालिकाका आठ हजार पाँच सय र भजनी नगरपालिकाका सात हजार पाँच सय ९७ पशुहरुमा उक्त खोप लगाइएको हो ।
बर्दगोरिया गाउँपालिकाका आठ हजार, कैलारी गाउँपालिकाका नौ हजार नौ सय, जानकी गाउँपालिकाका आठ हजार पाँच सय, जोशीपुर गाउँपालिकाका नौ हजार नौ सय, चुरे गाउँपालिकाका एक हजार छ सय ५० र मोहन्याल गाउँपालिकाका आठ सय पशुमा खोरेत खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएका छन् ।
प्रत्येक स्थानीय तहमा दस हजारका दरले खोप लगाउने लक्ष्य रहेको सूचना अधिकारी कठायतको भनाइ छ । खुरफट्टा जनावरमा लाग्ने महामारी खोरेत रोगको नियन्त्रणका लागि अभियान सुरु गरिएको कार्यालयका प्रमुख डा हेमराज अवस्थीले बताए ।
उनले भने, “प्रत्येक पालिकालाई पशुको सङ्ख्याका आधारमा खोरेत खोपको डोज वितरण गरेका छौँ ।” यो रोग महामारीको रुपमा फैलँदा विभिन्न प्रजातिका खुरफट्टा जनावर प्रभावित हुने कार्यालय प्रमुख अवस्थीको भनाइ छ ।
मुखभित्र(गिजा, जिब्रो, थुतुनो अदिमा)स-साना पानी फोका देखापर्ने, अत्यधिक ज्वरो आउने, दुधालु गाईभैँसीले अचानक दूध दिन कम गर्ने छोड्ने, जनावरको खुरको कापमा फोका र घ्यू देखिने, खुर पाक्ने, कल्चौडो र थुनमा घाउ देखिने तथा थुनेलो हुन सक्ने, एक दुई दिनपछि पानी फोका फुटी आलो घाउ देखापर्नुका साथै लस्सादार र्याल वग्नेलगायत यस रोगका लक्षणहरु रहेको उनले बताए ।
यो रोग लागेका पशुको प्रत्यक्ष सम्पर्कबाट, विषाणुको लसपस भएको घाँसपात, दानापानी, सोत्तर आदिबाट, रोगी पशुको मासु, काँचो दूध तथा हेरचाह गर्ने व्यक्तिबाट र हावाको माध्यमबाट सर्ने गरेको छ ।
खोरेत रोगबाट बचाउन आफूले पालेका खुरफट्टा जनावरलाई प्राविधिकको सल्लाहअनुसार अनिवार्यरुपमा खोप लगाउने, अन्यत्र स्थानबाट पशु ल्याउँदा खोप लगाइएका पशु मात्र ल्याउने, स्रोत नखुलेका पशुहरु घरगोठमा रहेका पशु नमिसाइ सात दिनसम्म अलग्गै राख्ने, रोगी पशुलाई एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण वा ओसार पसार नगर्नेलगायतका क्रियाकलापमा ध्यान दिन जरुरी हुने पशु विज्ञ बताउँछन् ।
वर्षको दुई पटक लगाईने खोरेत रोगको खोप ठूलो पशुलाई दुई र सानो पशुलाई एक मिलिलिटरको दरमा लगाउने गरिन्छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आवको हालसम्म जिल्लाका २३ हजार तीन सय ७१ वटा गाई, गोरुभैँसीमा लम्पीस्किन खोप लगाएको छ ।
गोदावरी नगरपालिकाका दुई हजार, गौरिगङ्गा नगरपालिकाका तीन हजार, घोडाघोडी नगरपालिकाका दुई हजार, लम्किचुहा नगरपालिकाका एक हजार नौ सय ९५, टिकापुर नगरपालिकाका दुई हजार, भजनी नगरपालिकाका एक हजार नौ सय ९१ र बर्दगोरीया गाउँपालिकाका दुई हजार पशुहरुमा यो खोप लगाएको छ ।
कैलारी गाउँपालिकाका एक हजार नौ ९५, जानकी गाउँपालिकाका दुई हजार, जोशीपुर गाउँपालिकाका एक हजार नौ सय ९०, चुरेगाउँपालिकाका आठ सय र मोहन्याल गाउँपालिकाका एक हजार छ सय गाई, गोरु र भैँसीमा खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले भने केही दिनमा नगरका पशुहरुमा लम्पी स्किन खोप लगाउन सुरु गर्ने बताइएको छ । नेपालमा आर्थिक वर्ष २०७८/७९ सालमा पूर्वी नेपालमा हुँदै २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा देखिएको छालामा लाग्ने यो रोग ‘क्याप्रीक्स भाइरस’अन्र्तगत ‘लम्पी स्किन डिजिज’ भाइरसका कारणले लाग्ने रोग हो ।
यो खोप जिल्लाका प्रत्येक स्थानीय तहमा दुई हजारका दरले र आवश्यक परेको खण्डमा मात्रा बढाउने लक्ष्य रहेको बताइएको छ ।
छालामा ठूलो बिमिरा वा दाना देखिने र त्यो दाना पाकेर पशुलाई उच्च ज्वरो आउनेलगायतको असर पशुमा देखिने गर्दछ । सङ्क्रमित क्षेत्रभन्दा बाहिरका तीन महिनाभन्दा बढी उमेर समूहका पशुलाई लम्पीस्किन विरुद्ध बर्सेनि खोप लगाउने, गर्भिणी सङ्क्रमित पशुबाट जन्मेका बाच्छाबाच्छी/पाडापाडीलाई चार महिनापछि खोप लगाउने, सङ्क्रमणबाट निको भएका पशुलाई एक वर्ष पछाडि मात्र खोप लगाउने, गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन गोठ वरिपरि धुँवा लगाउने, रोगी पशुलाई सामूहिक चरन/खर्क आहालमा नलैजाने लगायत लम्बी स्किन रोग रोकथामका उपाय रहेका छन् ।

