काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई जोडेर एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । ‘अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ शीर्षकको समाचारमा सत्यता नरहेको तर वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन गर्न प्रतिबद्धत रहेको उनले बताएका छन् ।
पृथ्वी शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत खोज्दै भएको अनुसन्धानमा सम्पत्ति शुद्धीकरण विभागले २०७८ माघ १७ गते राष्ट्र बैंकलाई पत्र लेख्दै निजले कसूर अपराध गरेको स्थापित हुने आधार नदेखिई बैंक खाताहरु रोक्का राख्नु नपर्ने देखिएको जनाएको थियो ।

विभागले गत माघ ११ मा शाहको नाममा रहेका बैंक खाता फुकुवा गर्ने निर्णय गर्दै राष्ट्र बैंक र अन्य बैंकलाई पनि पत्राचार गरेको थियो । तर, विभागको पत्राचारअनुसार बैंक खाताहरु फुकुवा नभएपछि शाहले ११ चैतमा अर्थमन्त्री शर्मासमक्ष निवेदन दिएका थिए ।

शाहले सम्पत्ति शुद्धीकरण विभागको विभिन्न पत्रसमेत पेश गरेको आधारमा उनलाई थप दुःख नदिई बैंक खाता फुकुवा गर्नुपर्ने र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्नुपर्ने निष्कर्षसहित अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार खाता फुकुवा गरिदिन अनुरोध गरेका थिए ।
‘सम्पत्ति शुद्धीकरण विभागले शाहको बैंक खाता फुकुवा गर्नू भनि दिएको निर्देशन कार्यान्वयन गर्नू भनेर राष्ट्र बैंकलाई अनुरोध गरी पठाएको हो’ मन्त्री शर्माले भने । विदेशबाट आएको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको पनि उनले प्रष्ट पारे ।


