२०८३, कार्तिक १४ गते शनिबार

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै


  • मेरोभ्यूज
  • चैत्र ११, २०७८ शुक्रबार

  • चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

    काठमाडाैं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीन वर्षको अन्तरालमा चिनियाँ विशिष्ट पाहुनाबाट हुन लागेको यो भ्रमणले नेपाल र चीनबीचको परम्परागत मैत्री, पारस्परिक हित र चासोका विषयमा सहकार्य एवं साझेदारीलाई थप सुदृढ तुल्याउन फलदायी हुने नेपालकाे अपेक्षा छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने विशिष्ट व्यक्ति विदेशमन्त्री वाङको नेपाल बसाइलाई नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्न तथा सहयोगको दायरलाई अझ विस्तृत बनाउने प्रयास हुनेछ ।

    हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना विस्तार गर्न चीनले अघि सारेको बहु–अर्ब डलरको विशाल पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयन विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले गहन छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

    बिआरआई कार्यढाँचा सम्झौतामा नेपालले हस्ताक्षर गरेको पाँच वर्ष भइसकेको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्ने चिनियाँ प्रतिबद्धताको सन्देश प्रवाह गर्न विदेशमन्त्रीको भ्रमण हुन लागेको हाे । चीनले बीआरआईको परियोजना कार्यान्वयन योजनालाई अन्तिम स्वीकृतिका लागि नेपालसँग प्रस्ताव गरिसकेको छ भने त्यसलाई यही भ्रमणका क्रममा टुङ्गो लगाउने नेपाल सरकारको तयारी छ ।

    नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी पूर्णरूपमा खोल्न, हवाई उडान पुनः सञ्चालन गर्न अनुरोध गर्नाका साथै कोभिड–१९ को महामारीका कारण एकाएक स्वदेश फर्किनुपरेका विभिन्न चिनियाँ विश्वविद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीले भोग्नुपरेको समस्या समाधान, २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमण र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका विगतका सम्झौताको कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेकाे छ । 


    प्रकाशित : शुक्रबार, चैत्र ११ २०७८०८:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार