२०८३, कार्तिक १३ गते शुक्रबार

अर्थमन्त्री र ऊर्जामन्त्रीले गरे पश्चिम रुकुममा सवस्टेशनको उद्घाटन

अर्थमन्त्री र ऊर्जामन्त्रीले गरे पश्चिम रुकुममा सवस्टेशनको उद्घाटन


  • मेरोभ्यूज
  • चैत्र ८, २०७८ मंगलबार

  • अर्थमन्त्री र ऊर्जामन्त्रीले गरे पश्चिम रुकुममा सवस्टेशनको उद्घाटन

    काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सवस्टेशन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गरे । 

    सवस्टेशनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिनेछ । सो अवसरमा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्वऊर्जा मन्त्रीसमेत शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

    ऊर्जा मन्त्री भुसालले विगतमा बत्ति बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत् रहेकाले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन् ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्णविद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।

    सल्यान शीत्तलपाटी सवस्टेशनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत् विद्युत् लगेर सवस्टेशन सञ्चालनमा ल्याइएको हो । सवस्टेशनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ । सवस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युत्को भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ ।

    जाजरकोटको कुदु सवस्टेशनबाट पनि जिल्लाभरि विद्युत् आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसबाट सल्यान वा दाङको तुलसीपुरमा विद्युत् अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा बत्ति बाल्न सकिन्छ । सवस्टेशनबाट विद्युत् आपूर्तिका लागि फिडर निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत् आपूर्ति भइरहेको छ । 

    सवस्टेशन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सवस्टेशन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालिसँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    रुकुम पश्चिममा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका सबैमा विद्युत् पुगेको छ । सबै वडाहरुमा भने विद्युत पुगेको छैन । पालिकाहरुको वडा संख्या ७३ रहेकामा ५२ वटा वडामा विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।


    प्रकाशित : मंगलबार, चैत्र ८ २०७८१०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार