काठमाडौं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने उदेश्यसहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएकाे छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र युएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरे ।
समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने कुरा उल्लेख छ। नेपालमा सार्वजनिक-निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवर्द्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न यो सहकार्यले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्याङ्कन मापदण्ड, परियोजना विकास सम्झौता र परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यको लागि सहयोग स्थापित गर्ने कुरा समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । लगानी बोर्डको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्टयाण्डर्ड अपरेटिङ प्राेसिड्युर विकास गर्न सहकार्य गर्नेलगायत अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्त रुपमा अघि बढ्ने समेत समझदारीपत्रमा उल्लेख छ।
लगानी बोर्डको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले यस समझदारीले नेपालमा लगानी प्रवर्द्धनमा आशाहरुको सिर्जना गर्ने बताए । त्यसका लागि बोर्डको आन्तरिक क्षमता वृद्धि गर्ने, लगानीकर्ताका जोखिमहरु न्यूनीकरण गर्ने, अनुमानयोग्यता प्रवर्द्धन गर्ने कार्यमा सहयोग आदान प्रदान हुने पक्षमा जोड दिए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि लाबेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विश्वका १७० भन्दाबढी देशमा सहकार्य गरिरहेको जानकारी गराउँदै नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको वर्तमान सन्दर्भमा लगानी बोर्ड नेपालसँगको सहकार्यले तीन तहकै सरकारका क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

