काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन् । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै सरकारले त्यस्तो पैसा खोज्न थालेको उनले बताए ।
नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवमा उनले तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको भन्दै सरकारले खोज्न थालेको बताए । ‘पूँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पूँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’
उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पूँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको जानकारी दिए । उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिको दुरुपयोग गरेर पूँजी पलायन हुने प्रक्रिया देखापरेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’
पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्ने क्रम लम्बिएपछि अर्थ मन्त्रालय पूँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनको भनाइ छ । ‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादनमुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले भने ।
उनले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य वस्तु, खानेतेल, प्लास्टिकलगायतको मूल्य बढेको छ । त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको विनिमयदर पनि बढेको छ’ उनले भने, ‘त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधानान्तरस्थित हामीले सोचेभन्दा केही फरक पर्न गएको हो ।’

