२०८३, कार्तिक १५ गते आइतबार

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती


  • मेरोभ्यूज
  • कार्तिक १५, २०८३ आइतबार

  • आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

     

    तनहुँ । दसैँ सकिनासाथ तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ।

    सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यतिबेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ । स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ ।

    महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका महिला फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका छन् । पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उनले बताए ।

    "दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गरेकाले फूल टिप्न सुरु गरेका छौँ", गुरुङले भनिन् ।

    महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमा आयआर्जनको अवसर सृजना गर्ने उद्देश्यले सुरु गरिएको फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्‍याएको उनको भनाइ छ । सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर मिलेको उनले बताइन् ।

    गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सकेमा महिलाको आम्दानी विस्तार गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको उनले बताइन् । उनका अनुसार फूल प्रतिकिलो रु ४०० सम्म बिक्री हुने गरेको छ ।

    आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको छ । महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आयआर्जनको अवसर सृजना गरेको उनले बताइन् ।

    केसीका अनुसार यहाँ उत्पादित फूलको बजारमा समस्या छैन। "फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याएको छ । यहाँ उत्पादित फूलको बजारमा समस्या छैन", उनले भनिन् । स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएसँगै खेतीलाई थप व्यवस्थित बनाउँदै लैजान सकिने उनले बताइन् । महिलाको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर विस्तार हुँदै गएको उनको भनाइ छ ।

    -----


    प्रकाशित : आइतबार, कार्तिक १५ २०८३०५:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार