२०८३, कार्तिक १५ गते आइतबार

मल्चिङ विधिबाट कफीखेती गर्दै किसान

मल्चिङ विधिबाट कफीखेती गर्दै किसान


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • मल्चिङ विधिबाट कफीखेती गर्दै किसान

     

    धुलिखेल । आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् ।

    गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

    गाउँपालिकाको सहयोगमा वडा नं. ५ को चौडिक र खोलाघारीमा पहिलो पटक मल्चिङ विधिबाट परीक्षणका रुपमा खेती भइरहेको छ । वडा नं. ५ का वडाध्यक्ष विजय राना मगरले पाँच रोपनीमा छ सय भन्दा बढी बिरुवा रोपेर व्यावसायिकरुपमा मल्चिङ विधिबाट कफीखेती शुरु गरेको छ ।

    मल्चिङ विधिबाट खेती गर्दा मल नबगाउने, झार नउम्रिने र ओसिलोपन व्यवस्थापन हुने भएकाले यो प्रविधि उपयोगी भएको उनले बताए ।

    त्यससँगै थोपा सिँचाइ प्रविधि पनि प्रयोग गरिएको छ । यसरी खेती गर्दा चाँडो फल लाग्ने र त्यो गुणस्तरीय हुने उनले बताए ।

    महाभारत गाउँपालिका–२ सोक्तेलका कफी उत्पादक किसानहरुले पनि छहारी व्यवस्थापनलाई प्राथमिकता दिएका छन् ।

    छहारी व्यवस्थापनबाट बिरुवा निरोगी हुने र चेरी पनि गुणस्तरको हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

    गाउँपालिकाले कफी उत्पादन र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको सहयोग र समन्वयमा समुदायमा आधारतिर ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरेको गाउँपालिकाका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताए ।

    गाउँपालिकाको तीन हजार दुई सय रोपनीमा कफीको व्यावसायिक कफीखेती विस्तार भइरहेको छ ।

    वि.सं. २०७८ सालदेखि यहाँका कफी किसान, कृषि सहकारी र समूहलाई गरेर तीन लाख ३१ हजार भन्दा बढी विरुवा वितरण गरिसकेको महाभारत गाउँपालिकाले जनाएको छ । पालिकाबाट बोट वितरणका लागि ७८ हजार बोट उत्पादन भएका छन् ।

    गाउँपालिकाले किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु. बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट रु. २० का दरले अनुदान दिने व्यवस्था गर्दै आएको छ ।

    सबैजसो किसान कफीखेतीतर्फ आकर्षित हुन थालेपछि पालिकाले अनुदानमा कफीको बोट वितरण र आवश्यक उपकरण वितरण गर्नाका साथै अनुदानमा प्रशोधन उपकरण वितरणलाई पनि जोड दिँदै आएको छ ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०८:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार