२०८३, कार्तिक १५ गते आइतबार

भेंडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकोमा पछुतो

भेंडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकोमा पछुतो


  • मेरोभ्यूज
  • फाल्गुण २८, २०८२ बिहीबार

  • भेंडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकोमा पछुतो

     

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेंडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।

    भेंडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर्षको बालक हुँदादेखिको नरेन्द्रको समय तालिका अझै फेरिएको छैन् ।

    “बिहान उठेदेखि राति अबेरसम्म भेंडाबाख्राको स्याहार सुसारमा व्यस्त हुने मैले घर नजिकै रहेको जनकल्याण मा.वि.मा पढ्नका लागि जिन्दगीमा कहिल्यै पनि पाइला टेकिन,” उनले भने “बाल्यकालमा घरपरिवारको बाध्यता र त्यतिबेलाको परिवेशका कारण पढ्न नपाउँदा अहिले पछुतो लागेको छ ।

    घरको मुख्य आम्दानीको स्रोत भेंडापालनमा बाल्यअवस्था, तन्नेरी र बुढेशकाल बिताएका नरेन्द्रको जीवनका सबैभन्दा रमाइलो, उत्साहजनक जोस र जाँगर बुकीमै हिउँसँगै पग्लिएर गयो ।

    उनीसँग केबल गोठमा घामपानी, असिना, हिउँमा कठिन तरिकाले रमाएका र वन्यजन्तुले झम्टिएको अनुभवहरू छन् ।

    बालापनको रमाइलो अनुभव भनेकै भेंडाका बथानसँग बिताएका क्षण सम्झिने नरेन्द्र सिकिस्त बिरामी हुँदासमेत बुकी छोडेनन् ।

    लेकाली क्षेत्रको चरन क्षेत्रलाई बुकी र गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।

    पुख्यौली पेसालाई निरन्तरता दिएका नरेन्द्रको गोठमा अहिले २५ वटा मात्रै भेंडा, पाठापाठी छन् ।

    तन्नेरी अवस्थामा तीन सयसम्म भेंडापालेका उनले अहिले गोठालाको अभाव हुन थालेपछि सङ्ख्या घटाउँदै लगेको बताउँछन् ।

    “एक्लै भेंडापालन गर्न मुस्किल छ, जीवन नै बुकीमा बित्यो, अब घरखर्च चलाउनै मात्रै पाल्छु,” उनले भने “अनपढ भएकाले भेंडाको गणना, मूल्य र हर-हिसाब राख्न अलमल हुँदा दुःख भयो ।”

    फर्काउन मिल्ने भए पुनःबालापनमा फर्किने रहर रहेको बताउँदै स्कूलमा गएर पढ्न नपाएको भेंडाको जस्तै जीवन भएको अनुभव सुनाए ।

    हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने अनुभव सुनाए । जाडो याममा हिउँ पर्न थालेपछि गोठ लिएर गाउँमा झरेका नरेन्द्र बर्खाको समयमा भीषण वर्षामा पनि बुकीमै बिताउँछन् ।

    वर्षामा वन्यजन्तुको आक्रमणबाट बचाएर पाठापाठी हुर्काउन बढी समस्या हुने गरेको उनले जानकारी दिए ।

    उनले बर्सेनी भेंडाका बथानबाट वन्यजन्तुले गर्ने नोक्सानी जोगाउन कुकुरलाई सँगै राख्छन् । भोटे कुकुरले आफ्नो र जङ्गली जनावरबाट भेंडालाई जोगाउन मद्दत गरेको बताए ।

    “चितुवाले झम्टिँदा प्रतिकार गरेर मृत्युको मुखबाट बचेको छु,” उनले भने “गोठमा बस्न पनि सजिलो छैन ।” नरेन्द्रजस्तै गुर्जाका ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी भेंडाको बथानसँगै गोठमा बिताए ।

    नौ वर्षको उमेरमा बुकीतिर उकालो लागेका गोरेलाई अहिले पनि भेंडाको बथानले घेर्ने गर्दछ । उमेर अनुसार शरीरले आराम मागेपनि गोरेको दैनिकी तन्नेरीको भन्दा कम छैन ।

    उनले वार्षिक रु. दस लाखको भेंडा नै बेचेर कमाउने बताए । गुर्जामा करिब वीस घरपरिवारले व्यावसायिक भेंडापालन गरेका छन् । युवापुस्ता वैदेशिक रोजगारीका लागि पलायन हुन थालेपछि भेंडागोठ बुढापाकाले धानेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

    भेंडा बेच्न बजार जानुपर्ने बाध्यता छैन् । गाउँमा विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेंडीगोठ नै पुग्ने गरेका छन् ।

    परम्परागतरुपमा हुँदै आएको भेंडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    गाउँपालिकाले पनि भेंडापालन किसानलाई लक्षित गरेर विभिन्न रोग विरुद्धको खोप अभियान, औषधि उपचार, गोठाला बस्नका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

    गोठलाहरुको नियमित स्वास्थ्य परीक्षणमासमेत जोड्ने गरिएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मूना, मुदी, मल्कबाङमा परम्परागत घुम्ती गोठमा परम्परागत हिसाबले पशुपालन गर्ने चलन छ ।


    प्रकाशित : बिहीबार , फाल्गुण २८ २०८२०९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार