रौतहट । रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मङ्गलबार हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–४ र ६ ले वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो ।
सो अन्तरक्रियामा चन्द्रपुर सवडिभिजन वन कार्यालयका प्रमुख अनिल महतोले दिगो वन व्यवस्थापन कार्यक्रमले हातेमालो सामुदायिक वन उपभोक्ता समूह देशकै नमूना सामुदायिक वनको रूपमा स्थापित भएको बताए ।
सो सामुदायिक वनको कूल क्षेत्रफलको दुई सय ८२ हेक्टरमध्ये दुई सय ७४ हेक्टर वन क्षेत्र उत्पादनशील रहेको उनले जानकारी दिए ।
आठवटा आवधिकखण्ड बनाएर संरक्षण गरिँदै आएको उक्त सामुदायिक वनमा बालिचक्र ८० वर्ष कायम गरेर वन संरक्षण कार्ययोजना बनाइएको वन अधिकृत महतोले जानकारी दिए ।
एकखण्डमा करिब साढे ३४ हेक्टर जङ्गल रहेको र एकखण्डलाइ दसवटा भागमा विभाजन गरी दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा मात्रै साढे तीन हेक्टर वन क्षेत्रमा एक हजार छ सय ९७ रुखमध्ये दुई सय ७२ वटा रुख माउ रुखको रूपमा कायम गरिएको र बाँकी एक हजार तीन सय २५ वटा रुख पुनःउत्पादन तथा कटानका लागि सिफारिस गरिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जिल्लामा तीनवटा सामुदायिक वन र एउटा साझेदारी वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागु भएको जानकारी दिए ।
तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूह, भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह र हातेमालो सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिमा सो कार्यक्रम लागु भएको उनको भनाइ छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ रौतहटका अध्यक्ष बेदहरी दाहालले दिगो वन व्यवस्थापन कार्यक्रम इमान्दारिताका साथ काम गरे फाइदै फाइदा हुने जानकारी दिए ।
हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले आफूले नेतृत्व गरेको सामुदायिक वन साल उत्पादन तथा संरक्षणमा देशमै नमूनाको रूपमा परिचित हुँदै गएको उल्लेख गरे ।

