२०८३, कार्तिक १५ गते आइतबार

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै


  • मेरोभ्यूज
  • फाल्गुण १६, २०८२ शनिबार

  • कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

     

    स्याङ्जा । यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् ।

    स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिकरूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।

    जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताए ।

    व्यावसायिकरूपमा कागतीखेती गरेका न्यौपानेले झण्डै छ क्विन्टल कागतीको दाना बिक्री गरे । जाडो लागेसँगै बिक्री नभएको चार क्विन्टल कागतीबाट रस तथा चुक बनाएको हो ।

    “कागतीको दाना बोटबाट दैनिक झर्न थाले, यता बजारमा खपत भएन”, उनले भने, “दाना कुहाएर फाल्नुभन्दा विकल्पका रूपमा लामो समयसम्म रहने भएकाले चुक र केही समयसम्म रहने भएकाले रसको रूपमा परिणत गरी बिक्री गर्न थालेको छु ।”

    कागतीको चुकको बजार माग राम्रो रहेकाले पनि वैकल्पिक विधि अपनाइएको हो । चुक प्रतिलिटर रु. एक हजार छ सयका दरले बिक्री हुने गरेको छ । स्थानीय अगुवा किसान न्यौपानले जस्तै यस ठाउँमा रहेका अन्य किसानले पनि उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएपछि वैकल्पिक विधि अपनाएका छन् ।

    वालिङ–१४ र भिरकोट नगरपालिका–९ का व्यावसायिक किसानले उत्पादन गरेको सागसब्जी, फलफूललगायत सामग्रीको आगामी दिनमा सहकारीमार्फत सामूहिकरूपमा बजारीकरण गर्ने तयारीमा स्थानीय रहेका छन् ।

    मौसमी तथा बेमौसमी जातका सागसब्जी, सुन्तला, कागती, च्याउ, मह, अकबरे खुर्सानी, अदुवाको व्यावसायिक उत्पादन गर्दै आएका यहाँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले सहजै बजार नपाएपछि सहकारीमार्फत बजारीकरण गर्ने तयारीमा छन् । भौगोलिक र यातायातका दृष्टिले विकटमा रहेकाले पनि बजारीकरणमा समस्या भएको हो ।

    वालिङ–१४ अमलडाँडाका व्यावसायिक कागतीखेती गर्ने किसान यामप्रसाद पौडेलले साउनदेखि यता झन्डै आठ टन कागतीको दाना बिक्री गरेको जानकारी दिए । जाडो लागेसँगै कागती बिक्री हुन छाडेपछि एक टन जतिको पेलेर रस बनाएको छ । उनीसित अहिले पेलेको रस झन्डै पाँच सय लिटर छ ।

    “गर्मीयाममा जस्तो जाडोमा कागतीका दाना बिक्री हुँदैन”, उनले भने, “थोरै-थोरै बिक्री हुन्छ, बाँकी रहेका कागतीलाई पेलेर रस निकाल्छु र त्यसलाई प्रशोधन गरेर लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।” बजारमा रस पनि खपत हुने गरेको छ ।

    अहिले कागतीको माग पनि कम र बजार मूल्य कम पर्ने भएकाले भण्डारण गर्न सक्ने व्यवस्था हुने हो भने गर्मी लागेसँगै राम्रो मूल्य पर्ने उनको भनाइ छ ।


    प्रकाशित : शनिबार, फाल्गुण १६ २०८२१०:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार