बागलुङ । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै वीस हजार पुगेको छ ।
यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
दरबार संरक्षण अभियानमा लागिरहेका मञ्जेश बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरुपमा फर्काइएको छ ।
दरबारका झ्यालढोका पुरानै स्वरुपमा बनाइएका छन् भने रङरोगन र मर्मतपछि चिटिक्क बनाइएको छ ।
दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिकरूपमा पुन:निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको हो ।
गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरत बम मल्लका नाति मञ्जेश बम मल्लले बताए ।
उनले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र वीस हजारले दरबार अवलोकन गरेको बताए ।
दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या दैनिकरूपमा बढ्दै गएको मल्लले जानकारी दिए ।
मल्लसहितका चार युवाले रु. ५० लाख लगानीमा यहाँ रेष्टुराँ सञ्चालनमा ल्याएको छ । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ ।
वि.सं. २०३९ मा राजा भरत बमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो ।
परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिएको थियो ।
वि.सं. २०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौंमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो ।
पछिल्लो समय नाति मञ्जेशले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ ।

