२०८३, कार्तिक १५ गते आइतबार

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती


  • मेरोभ्यूज
  • पौष १५, २०८२ मंगलबार

  • भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती


    चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएको छ ।

    अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो ।

    उनले भने, “पाँच दिनसम्म दैनिक दस जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ ।” उनले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा रु. आठ सय र दाना प्रतिकिलो रु. पाच सयमा बिक्री भएको जानकारी दिए । यसपटक अधिकारीले एकलरूपमा खेती गरेको हो ।

    दुई वर्षअघि भने चार जनाको समूह बनाएर सोही स्थानमा प्राङ्गारिक सूर्यमुखीखेती गरिएको थियो । त्यो समयमा फूल फुल्दा खेत क्षेत्र आकर्षक बनेको र दैनिकरूपमा फोटो खिच्न, भिडियो बनाउन तथा घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले जानकारी दिए ।

    बाली राम्रो भएकोले ढकमक फूलले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अधिकारीको दाबी छ । फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ । लामो समयदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आएको छ ।

    सूर्यमुखीखेतीलाई बाह्य प्रभावबाट जोगाउन खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरिएको उनले बताए ।

    उनले भने, “श्रीपुर गाजर उत्पादनका लागि पनि परिचित क्षेत्र हो, मैले प्राङ्गारिकरूपमा गाजर पनि लगाएको छु ।”

    उनको अगुवाइमा यहाँका साथै जिल्लाका प्राङ्गारिक समूहहरूले अन्य विभिन्न बाली लगाउँदै आएका छन् । करिब चार दशकदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आएको छ ।


    प्रकाशित : मंगलबार, पौष १५ २०८२११:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार