२०८३, कार्तिक १५ गते आइतबार

तोरीले पहेँलपुर बेथानचोक

तोरीले पहेँलपुर बेथानचोक


  • मेरोभ्यूज
  • पौष ५, २०८२ शनिबार

  • तोरीले पहेँलपुर बेथानचोक

     

    धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ ।

    स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ । उनले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताइन ।

    “बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रितरुपमा आलुखेतीसमेत छ । यसले यहाँको सुन्दरता थपेको छ”, किसान सापकोटाले भनिन, “गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ । त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ ।”

    सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताए ।

    “कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ”, उनले भने, “जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ ।”

    पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताए ।

    बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । यसबाट प्रति हेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उनले बताए ।

    गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताए ।

    पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उनको भनाइ छ ।

    “अझ गाउँपालिकाको वडा नं. १ च्याम्राङबेँसी माथिल्लो गाउँका किसानमध्ये एक घरले वार्षिकरूपमा १०/१२ मुरिसम्म उत्पादन गर्दै आएका छन्”, उनले भने, “त्यसरी खेती गर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि पालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । नीति कार्यक्रम बनाउनुअघि छलफल गरेर अगाडि बढ्ने गरेका छौँ ।”

    हाल तोरीको फूल फुल्ने मौसम भएकाले पालिकाको सबैजसो बारीका पाटाभरि पहेँलपुर हुनेगरी फूल फुलेको देख्न पाइन्छ । यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जसबाट मनग्य आम्दानी हुने गरेको छ ।


    प्रकाशित : शनिबार, पौष ५ २०८२११:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार