२०८३, कार्तिक १५ गते आइतबार

‘टिपिएस’ विधिबाट आलुखेती

‘टिपिएस’ विधिबाट आलुखेती


  • मेरोभ्यूज
  • मंसिर २९, २०८२ सोमबार

  • ‘टिपिएस’ विधिबाट आलुखेती


    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलो पटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गरेको छ । चौधरीले आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर उनले बिरुवा रपेको हो ।

    चौधरीका अनुसार टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएको बताए । “पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ”, चौधरीले भनिन्, “यसबाट आगामी वर्ष रोगमुक्त उच्च गुणस्तरको बीउ उत्पादन गर्ने लक्ष्य छ ।”

    एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टिपिएस विधि बियाँ उत्पादनतर्फको प्रवेशको पहिलो अनुभवका रूपमा रहेको छ ।

    आधुनिक आलु उत्पादन प्रविधि उपयोग गरेर बीउ उत्पादन लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने भएकाले नयाँ विधि अपनाएको चौधरीले बताए ।

    हाल चौधरीले दुई कट्ठा क्षेत्रमा बियाँबाट तयार पारिएका आलुका बिरुवा रोपेको छ । आउँदो वर्ष दश कट्ठा जग्गामा यसै विधिबाट उत्पादन भएको मूल बीउ रोपेर रोगमुक्त आलु बीउ उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    टिपिएसबाट उत्पादन हुने बीउको मूल्य अधिक हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने उनको अपेक्षा रहेको छ । चौधरीले हाल आलुसँगै काउली, गोलभेडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी दश कट्ठा क्षेत्रफलमा विविध सागसब्जीखेती गर्दै आएको छ ।

    सागसब्जी उत्पादनबाट चौधरीले वार्षिक रु. सात लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।

    “टिपिएस आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको मुख्य आधारका रूपमा लिएको छु”, उनले भने, “यसरी उत्पादन भएको आलुको बीउलाई व्यावसायिकरूपमा आलुखेती गर्ने किसानलाई उपलव्ध गराउने योजना छ ।”

    पहिलो पुस्ताको आलुको बीउ प्रयोग गरी खेती गरिए उत्पादन बढ्नुका साथै छ वर्षसम्म बीउका रूपमा प्रयोग गर्न सकिने उनि बताउँछन् । यस प्रविधिबाट आलुको बीउ उत्पादन गर्न किसानलाई सिकाउने उनले उद्देश्य लिएको छ ।

    बाह्य जिल्लाका किसानले बियाँबाट बिरुवा तयार गरी आलु रोपेको देखेर चौधरीले त्यो तरिका सिकेर आलुको बीउ उत्पादनमा संलग्न भएको हो ।


    प्रकाशित : सोमबार, मंसिर २९ २०८२०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार