२०८३, कार्तिक १५ गते आइतबार

नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत


  • मेरोभ्यूज
  • मंसिर २३, २०८२ मंगलबार

  • नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

     

    खोटाङ । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न शुरु गरेको छ ।

    परम्परागतरूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत शुरु गरेको हो ।

    गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा शुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिए ।

    “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाइनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ”, उनले भने ।

    अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरुपता र समय बचत हुने भएकोले अनिवार्यरूपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए ।

    यो प्रणाली लागु भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय शुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

    जिल्लाको सबैभन्दा सानो (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकामा जन्म, मृत्यु, बसाइँ-सराइ, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता पञ्जीकरणको सम्पूर्ण काम अनलाइन प्रणालीमार्फत नै जारी हुँदै आएको थियो ।

    स्थानीय सेवाग्राहीले यस कदमलाई स्वागत गर्दै यसले सेवाग्राहीलाई समेत छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।


    प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार