२०८३, कार्तिक १५ गते आइतबार

‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

‘मानुङकोटको सुन्दरताले लोभ्यायो’


  • मेरोभ्यूज
  • मंसिर १, २०८२ सोमबार

  • ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

     

    तनहुँ । “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भनिन्, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।”

    पोखराबाट सोमबार बिहान २:०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका-५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गरिन् ।

    उनले भनिन्, “मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ ।”

    काठमाडौंबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् । उनले भनिन्, “आउन मन भए पनि पहिला विविध कारणले आउन सकिराखेकी थिइँन, अहिले यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो ।”

    दमौलीका सुदिप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहल-पहल भएकोले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए ।

    चिसो मौसम शुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहल-पहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् ।

    मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले यतिबेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै हाल पर्यटकको चहल-पहल बाक्लिएको बताए ।

    चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ ।

    उनले भने, “अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति रु. एक हजार दुई सयमा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ ।” उनले आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको जानकारी दिए ।

    मानुङकोटमा पर्यटक उक्लिनेक्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल सञ्चालनमा छन् ।

    दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदल मार्ग निर्माण गरिएको छ ।

    मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

    परापूर्वकालमा महर्षि वेदव्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् ।

    खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

    मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । शहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो ।

    कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।


    प्रकाशित : सोमबार, मंसिर १ २०८२०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार