ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न शुरुवात भएको छ ।
फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता छ हजार आठ सय आठ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए ।
अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड छन् ।
चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेका थिए ।
विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण(फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्साका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताए । सो हिमालको उचाइ सात हजार सात सय दस मिटर रहेको छ ।
वि.सं. २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेको बताइएको छ ।
पछिल्लो वर्षहरुमा यहाँका हिमालहरु उत्साहका साथ आरोहण गर्न थालिएका छन् ।
गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले छ हजार तीन सय २८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेका थिए ।
गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो ।
चिलिका एक नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार चार सय ३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार तीन सय जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् । केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन् । भदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमण याम रहने शेर्पाले जानकारी दिए ।
पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार पाच सय ५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए । सो आरोहणबाट एक करोड ९७ हजार चार सय ६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो ।

