फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू बगानमै रमाइरहेका छन् ।
बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्न थालेका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बुका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् ।
अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकोले बगानमै व्यस्त भएको उनले बताए ।
फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेको छ । “चालिस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।” उनले भने, “छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै शुरु गरेका थियौँ ।”
किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टीमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ ।
जिल्लाका नौ स्थानीय तह मध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोला बाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ ।
ताप्लेजुङमा प्रतिमन (४० के.जि.) खलैँचीको मूल्य रु. ८८ हजारमा खरिद-बिक्री भइरहेको व्यवसायी कमल बरालले बताए ।
अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदूरले दैनिक पाच सयदेखि सात सयसम्म ज्याला पाउँछन् ।

