तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा रहेको छिम्केश्वरी माईलाई धार्मिक पर्यटकीय स्थल बनाउन पालिकाले यसको सौन्दर्यकरण गरिएको हो । छिम्केश्वरी समुन्द्र उचाइबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ ।
मन्दिरको पुन:निर्माण अभियानअन्तर्गत दर्शनका लागि भक्तजन तथा पर्यटकको विश्रामका लागि नेपाली कला संस्कृति झल्किने पौवा पाटी (फल्चा) निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
त्यस्तै मन्दिरभित्र पित्तलको चदुँवा तथा पाताहरु लगाउने, बाहिर पेटी तथा सिँढीहरुमा तेरिया इँट्टा लगाउने, आँगन परिसरमा ढुङ्गाहरु छाप्ने काम गरिएको उनले बताए ।
उनले भने, “मन्दिरलाई आकर्षक बनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित काम गरिएको छ ।”
गाउँपालिकाले छिम्केश्वरी माई मन्दिर नजिकै रहेको बुढीमाईको मन्दिर पनि पुन:निर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुन:निर्माण गर्ने लक्ष्य राखिएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।
सात देवीमध्ये जेठी बुढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।
महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ ।
धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
छिम्केश्वरीमा हाल वार्षिक करिब एक लाख पर्यटक आउने गरेका छन् ।
विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेलगायतका बेला पर्यटकको ठूलो भीड लाग्ने गरेको छ ।
त्यसका अलवा दैनिकरुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले बताए ।
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा रु. ४१ लाख ६३ हजार सात सय छको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आ.व. २०७६/०७७ मा रु. ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

