पर्वत । वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होम-स्टे (घरबास)सुनसान बनेका छन् ।
जिल्लामा पाँच दर्जन बढी होम-स्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होम-स्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन् ।
मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना नरहेको भन्दै चिन्तित बनेका छन् ।
वर्षायाम शुरु भएसँगै गत असारदेखिनै पर्यटकहरुको आगमनमा कमी भएपछि यहाँ सञ्चालित होम-स्टे सुनसान बनेका हुन् ।
यहाँका सातवटै पालिकामा गरी ६२ होम-स्टे (घरबास) सञ्चालनमा छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा छ, महाशिला गाउँपालिकामा नौ, पैंयुँमा तीन र विहादीमा सातवटा होम-स्टे सेवा सञ्चालनमा रहेका छन् । यी सामुदायिक होम-स्टे हुन् भने दुईवटा निजी होम-स्टे समेत सञ्चालनमा छन् ।
जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङ्ग, वडा नं. १४ आर्थर, फलेवास–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुङ्खु, बिहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्कलगायतका स्थानमा सञ्चालित होम-स्टे (घरबास) वर्षायामका कारण ठप्पजस्तै रहेको सञ्चालकले बताएका छन् ।
गण्डकी प्रदेशकै अग्रणी होम-स्टे (घरबास) सेवा दिँदै आएको मोदी–८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होम-स्टे (घरबास)मा मात्र गत वर्षमा चार हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए ।
धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होम-स्टे (घरबास)’मा विभिन्न जिल्लाबाट पाहुनाहरु आउने क्रम अब शुरु हुने होम-स्टे (घरबास) व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होम-स्टे (घरबास)मा आउनेहरुको मन जित्दै आएको छ ।
अहिले वर्षायाम भएकोले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या शून्यजस्तै रहेको छ । अब विस्तारै हिउँदयाम शुरु भएपछि पर्यटकहरु आउने क्रम शुरु हुने बताए ।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ ।
होम-स्टे पुग्ना साथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ ।
खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसोपानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ ।
चित्रेको होम-स्टे (घरबास)का आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होम-स्टे (घरबास) विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए । अहिले सडकसमेत अवरुद्ध भएकोले पर्यटकहरु आउन सकेका छैनन् ।
यस्तै मोदी–१ भुकताङ्लेमा रहेको लप्सीबोट सामुदायिक र भुक देउराली नमूना सामुदायिक होम-स्टे(घरबास) पनि सुनसान छन् ।
गाउँ जोड्ने पातीचौर–देउपुर–लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध हुँदा पर्यटकहरु आउन नसकेको वडाध्यक्ष टेकबहादुर गुरुङले बताए ।
वर्षायाममा न्यून पर्यटक आउने भए पनि सडकसमेत अवरुद्ध हुँदा झनै ठप्प बनेको उनले जानकारी दिए ।
नियमित वर्षा भइरहँदा जिल्लाका अन्य होम-स्टे (घरबास)हरुमा पनि पर्यटकको चहल-पहल बढ्न नसकिरहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अनुसार वर्षा रोकिएपछि चाडबाड शुरु हुने र पर्यटनको मौसमसमेत शुरु हुने भएकोले चहल-पहल बढ्ने कार्यालय प्रमुख अशोक नेपालीले जानकारी दिए ।

