२०८३, कार्तिक १५ गते आइतबार

अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइयो छठ

अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइयो छठ


  • मेरोभ्यूज
  • कार्तिक १०, २०८२ सोमबार

  • अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइयो छठ

     

    झापा । भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व मनाएका छन् । मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बङ्गालीलगायत विभिन्न समुदायको साझा सहभागितासहित समावेशी रूपमा छठ मनाइएको हो ।

    नेपाल–भारत सीमावर्ती भद्रपुर–५ को मेची नदी किनारमा यस वर्ष एक हजारभन्दा बढी पूजास्थल निर्माण गरिएको छ । करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैतर्फ हिमाल, पहाड र तराईका बासिन्दाले एकसाथ अघ्र्य अर्पण गर्दै साझा पर्वको रूपमा छठ मनाएको मैथिल समाजका अग्रज विकासकुमार गुप्ताले बताए ।

    पूजास्थल वरपर सुरक्षाको व्यवस्था नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त गस्तीमार्फत गरेका छन् भने विभिन्न सामाजिक सङ्घ–संस्थाले मेलामा आएका भक्तजनका लागि निःशुल्क पानी र चियाको व्यवस्था गरेका छन् ।

    पछिल्ला वर्षमा भद्रपुर र भारतको गलगलियाका स्थानीय बासिन्दाले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेका छन् । चार दिनसम्म चल्ने यस पर्वमा तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व सम्पन्न हुने परम्परा छ ।

    मैथिल समाजका अग्रज गुप्ताका अनुसार जनसहभागिताका दृष्टिले नेपालको जनकपुरपछि दोस्रो स्थान भद्रपुर रहेको दाबी गरे । झापाको मेची, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई नदी र रतुवा खोलाका किनारमा पनि भव्य रूपमा सजावटसहित छठपूजा गरिँदै आएको छ । ती मध्ये भद्रपुरस्थित मेचीघाटमा सर्वाधिक भीड हुने गरेको छ ।

    यसैबीच, छठ पर्वको अवसरमा मेचीघाटस्थित छठी माता मन्दिर परिसरमा गङ्गा आरतीको विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त आरतीको शुभारम्भ भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरे ।

    -----


    प्रकाशित : सोमबार, कार्तिक १० २०८२१०:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार