काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू जगदीश खरेल, अनिलकुमार सिन्हा, महाविर पुन तथा मदनप्रसाद परियारलाई शपथ गराएको हो ।
नवनियुक्त मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि तथा मन्त्री परियारले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी सम्हाएको छ ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।
साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार नियुक्त गरेको हो ।
कानून व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन ।
यसैगरी मन्त्री परियार कृषि विज्ञ हुन भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुन । वर्तमान मन्त्रिपरिषदमा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा छन् ।
बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाएको छ । ‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
-----

