काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ ।
खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो ।
उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एक सय ७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ ।
ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडाबाट स्कूलसम्मका बस्ती अब सुरक्षित र खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको घोषणा गरिएको हो ।
कुल रु. ८३ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ ।
उक्त आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा)बाट रु. ४२ लाख ४१ हजार सात सय, पनौती नगरपालिकाबाट रु. १६ लाख ९१ हजार चार सय र उपभोक्ताको श्रमदानबाट रु. २४ लाख १४ हजार आठ सय खर्चिएको आयोजनाका अध्यक्ष मोहन थापाले जानकारी दिए ।
यसअघि पनौती नगरपालिका–११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त खानेपानी आयोजना पुन:निर्माण गरी एक सय ९५ परिवारलाई पुनः खानेपानी उपलब्ध गराइएको थियो ।
बाढीपहिरोले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिष्टम’मार्फत पुन:निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।
बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर, एक धारा’ कार्यक्रममा जोडिएका हुन् ।
वि.सं. २०४७ मा निर्माण भएको उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिरोले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुन:निर्माण गरी उपभोक्तालाई सहज बनाइएको थियो ।

