तनहुँ । शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान शुरू गरिएको छ ।
लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान शुरू गरेको हो ।
फोहरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रा.लि.बीच त्रिपक्षीय सम्झौता भइ काम अगाडि बढेको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिए ।
सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहरमैला प्रशोधनका विभिन्न उपकरण ल्याइएको छ ।
असोजभित्र फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको विकले बताए । उनले भने, “प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहर हुनेछैन । टोल विकास संस्थासँगको सहकार्यमा घरबाटै फोहर वर्गीकरण गरेर सङ्कलन गरिनेछ ।”
सम्झौतालगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ ।
‘भेर्मी कम्पोस्ट पिट’, ‘अग्र्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो ।
दशवर्षे अवधिका लागि फोहरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौताअनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले रु. दुई करोड चार लाखको लगानी गरेको छ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहरमैला व्यवस्थापनका विभिन्न उपकरण खरिद गरेर जडान हुनेछ । शुक्लागण्डकीले फोहर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोडलाई दिएको छ ।
शुक्लागण्डकी नगरपालिकाका वन, वातावरण तथा फोहरमैला व्यवस्थापन शाखाका इञ्जिनियर भीम सुवेदीले असोजदेखि फोहर प्रशोधनको काम शुरू गरिने जानकारी दिए ।
आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट शुक्लागण्डकी नगरपालिकाले कसेरीमा फोहरमैला सङ्कलनका लागि ट्रष्ट निर्माण गरेको हो । ट्रष्ट निर्माणका लागि रु. २४ लाख ७० हजार आठ सय ५१ खर्च भएको छ । त्यस्तै २०८०/०८१ मा पनि कम्पाउण्ड र ट्रष्ट निर्माणमा रु. ५२ लाख ५९ हजार ५३ खर्च भएको जनाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा फोहरमैला संकलन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नती गर्न रु. ५२ लाख खर्च भएको थियो भने गत आ.व.मा फोहरमैला व्यवस्थापन केन्द्रमा सेती नदिले कटान गरेपछि करिब रु. ४५ लाखको लगानीमा तटबन्धन गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले हाल बजार क्षेत्रबाट संकलित फोहर सेती नदि किनारमा फाल्दै आएको छ । केन्द्र सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापनमा सहज हुने नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

