२०८३, कार्तिक १५ गते आइतबार

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

घुम्न जाउँ मिक्वाखोको लामपोखरी


  • मेरोभ्यूज
  • भाद्र २७, २०८२ शुक्रबार

  • घुम्न जाउँ मिक्वाखोको लामपोखरी

     

    ताप्लेजुङ । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो ।

    ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी फूल तथा पोखरीहरूको अवलोकनका लागि लादेन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

    यस क्षेत्रमा प्रत्येक वर्ष जडीबुटी सङ्कलन गर्ने मिलन लिम्बूका अनुसार हरियाली घाँसेमैदानमा रहेको लामपोखरी यस क्षेत्रकै ठूलो पोखरी हो । यहाँका पोखरी हेर्दा अरुको तुलनामा लामपोखरी ठूलो देखिए पनि यस पोखरीको अध्ययन, अनुसन्धान कुनै निकाय गरेको छैन ।

    यो पोखरीसँग धेरै किंवदन्ती कथासँग जोडिएको मिक्वाखोला गाउँपालिका–५ का वडा सदस्य तथा स्थानीय तोप्ला शेर्पाले बताए ।

    यस पोखरीलाई त्यहाँको स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी भन्ने गरेको शेर्पाले बताए । यहाँ पुग्ने जोकोहीलाई यस पोखरीले लोभ्याउने गर्छ ।

    शेर्पा समुदायका अनुसार पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरीको वरिपरि हरियाली दृश्यले यो क्षेत्र झनै सुन्दर देखिन्छ ।

    मिक्वाखोला–५ सिम्बुकका पान्दे शेर्पाका अनुसार पोखरी अवलोकन गर्न आउने पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिने र तस्बिर कैद गरेर फर्कने गरेका छन् ।

    यस क्षेत्रको प्रवर्द्धनका लागि सरोकारवालाले अहिलेसम्म खासै योजना बनाएको देखिँदैन । उच्च हिमाली क्षेत्र भएकोले पर्यटकलाई लेक लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको स्थानीय बताउँछन् ।

    यो क्षेत्र अवलोकन गर्न एक साता लाग्छ । मानव बस्ती नभएकोले बस्नका लागि याकगोठ र भेंडीगोठको भर पर्नुपर्ने मिक्वाखोला–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए ।

    केही ठाउँमा भने यहाँका समुदायले आफ्ना आफन्तको सम्झनामा धर्मशाला, पाटी बनाएका छन् । आवश्यक पर्ने खाद्य सामग्रीसमेत आफैँले जोहो गरेर लैजानु पर्छ ।

    पछिल्लो समयमा गाउँपालिकाले यस क्षेत्रको प्रवर्द्धनमा चासो देखाउन थालेको छ ।

    चालु आर्थिक वर्षमा यस क्षेत्रको प्रचार-प्रसार गर्न बजेट विनियोजन गरिएको उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटक यहाँ पुग्न थालेका छन् ।


    प्रकाशित : शुक्रबार, भाद्र २७ २०८२१०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार