२०८३, कार्तिक १५ गते आइतबार

सरसफाइमा ‘जेनजी’

सरसफाइमा ‘जेनजी’


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • सरसफाइमा ‘जेनजी’

     

    काठमाडौं । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे ।

    सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो ।

    प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् ।

    उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् । उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए ।

    केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् ।

    सिंहदरबारको चारवटैतर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् ।

    माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका जेनजी दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए ।

    उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ ।

    यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेको छ ।

    काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् ।

    सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् ।

    साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् ।

    सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए ।

    जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् ।

    जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् ।


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार