२०८३, कार्तिक १५ गते आइतबार

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ कि.मि. दूरी छोटियो

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ कि.मि. दूरी छोटियो


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ कि.मि. दूरी छोटियो

     

    इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ ।

    इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवत-जावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागर/सुभारम्भ/एरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो ।

    पुल नहुँदा विगतमा यात्रीहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्णरुपमा बन्द हुने गर्दथ्यो । सङ्घीय सरकारको रु. एक करोड ३५ लाखमा बेलिब्रिज निर्माण गरिएको हो । बेलिब्रिज ४८.६ मिटर लम्बाइको भएको सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

    इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा हसजता आएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो”, उनले भने, “बेलिब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ ।”

    गतवर्ष पहिरोका कारण दुई साता राजमार्ग बन्द हुँदा यात्रीहरुले ठूलो सास्ती खेपेका थिए । त्यतिबेला वैकल्पिक सडक नहुँदा ताप्लेजुङ, पाँचथर र इलामबाट झापा झरेका यात्रुहरु माईखोला वरिबाट पारीसम्म पैदल र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आएका यात्री पारीबाट वरिसम्म पैदल हिँडेर गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्न बाध्य भएका थिए ।

    हाल पुवा खोलामा बेलिब्रिज निर्माण भएसँगै मेची राजमार्गको गोलाखर्कखण्डबाट सिधैँ केचना–कञ्चनजङ्गा सडक प्रयोग गर्दा ४७ किलोमिटरको दूरीमा झापाको विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा ८३ किलोमिटर दूरीमा मात्र विर्तामोड पुग्न सकिन्छ ।

    मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडकअन्तर्गत इलामखण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले जानकारी दिए ।

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०९:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार