२०८३, कार्तिक १५ गते आइतबार

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

     

    कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन् ।

    स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा 'जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग' सञ्चालन गर्दै आएका छन् । उनीहरुले शुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए ।

    वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुईवटा मेसिन निःशुल्क उपलब्ध गराएको छ । मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ ।

    दुनाटपरी उद्योग सञ्चालकमध्येकी सिता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताए ।

    उनले भने, “यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ । जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ ।”

    दिनमा एक हजार दुना र तीन सय जति टपरी उत्पादन गर्दै आएको उनले बताए । जसबाट मासिक रु. ३० हजार जतिको कारोबार हुने गरेको छ । दुना सानो साइजको रु. ७० पैसा, एक नम्बरको रु. ८० पैसा, दुई नम्बरको रु. एक, तीन नम्बरको डेढ रुपैयाँ र टपरी रु. साढे तीनमा बिक्री गर्ने गरेको उनले जानकारी दिइन ।

    दुनाटपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताइन । यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद्, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठूलो समस्या टर्ने गरेको उनको भनाइ छ ।

    दुनाटपरी कारोबारबाट दुई वर्षयता समूहमा बचत गरेको रु. ६० हजारका दरले एक जनाको भाग परेको उनले बताइन । “शुरुमा कामको खोजीमा थियौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा थियौँ”, उनले भनिन, “जब वडाबाट तालिम लियौँ आफ्नो हातमा सिप भइसकेपछि हिजोआज ढुक्कले घर खर्च चलिरहेको छ ।”

    शुरुशुरुमा दुनाटपरी बिक्रीका लागि समस्या हुने गरेता पनि हिजोआज समस्या नभएको समूहकी सविता चौधरीले बताइन ।

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०९:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार