२०८३, कार्तिक १५ गते आइतबार

खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

     

    भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिकरूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।

    विद्युत् विस्तारको शुन्य अवस्थाबाट काम शुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । बाँकी रहेका घरमा पनि चाडै विद्युत् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताए ।

    “यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् जडान गर्न सफल भएका छौँ” उनले भने, “यहाँ शून्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पुर्याएका छौँ । यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।”

    केन्द्रीय विद्युत् विस्तार भएपछि वषौँदेखिको टुकीबत्तीको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए ।

    पुस्तौँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तारले सहजता भएको उनले बताए ।

    विद्युत् विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ ।

    “हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ” उनले भने, “विद्युत् विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ । अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ ।”

    दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी दलबहादुर राईले बताए ।

    विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ ।

    “विद्युत् नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ” उनले भने, “विद्युत् विस्तारपछि हामी धेरै खुसी छौँ । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । बालबालिकाले सहजरूपमा पठन-पाठन गर्न पाएका छन् ।”

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०९:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार