२०८३, कार्तिक १५ गते आइतबार

खड्गभवानी कोट आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

खड्गभवानी कोट आन्तरिक पर्यटकको आकर्षक गन्तव्य


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • खड्गभवानी कोट आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

     

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ऐतिहासिक खड्गभवानी कोट आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको छ ।

    गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोट परिसरमा पूर्वाधार निर्माण भएपछि छ सय वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोटमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो ।

    खड्गभवानी कोटमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायत पूर्वाधारहरु निर्माण भएका छन् ।

    गण्डकी प्रदेश सरकारको रु. १५ लाख, बेनी नगरपालिकाको रु. ७५ लाख, पुरातत्व विभागको रु. दस लाख र अन्य निकायको रु. १२ लाख गरी यहाँ रु. एक करोड दस लाख बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधार निर्माण भएका छन् ।

    त्यसैगरी सापकोटा बन्धुहरुले करिब रु. २४ लाखको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरुले दुर्गा मन्दिर र खड्गभवानी कोट तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोट तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले बताए ।

    कोत परिसरको पटाङगिनीमा स्लेट ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ । चारैतिर धुपि र सल्लाका रुखको हरियाली र उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौवटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने बेनी नगरपालिका–२ ज्यामरुककोतका वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

    यहाँबाट दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।

    वि.सं. १२४६ देखि १५४५ सम्म थापा खलकले राज्य गरेका ज्यामरुककोटमा तत्कालीन पर्वत राज्यको विस्तारसँगै पर्वत राज्यका शक्तिशाली राजा दिलिपवम (डिम्ब) मल्लका सन्तान भर्दिवम मल्लको समयमा सामरिक क्षेत्र बनेको इतिहासमा उल्लेख छ ।

    कूल ४२ रोपनी क्षेत्रफलमा रहेको कोट परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै आकर्षणका रूपमा रहेका छन् ।

    बेनी नगरपालिकाको रु. पाँच लाख र वडा कार्यालयको रु. दुई लाख विनियोजित बजेटबाट कोट परिसरमा दुई सय दस मिटर घेराबार, दुई मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँको मर्मत गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिए ।

    “ऐतिहासिक स्थलको पूर्वाधारलाई सुरक्षित गरी धार्मिक र पर्यटकीयस्थल बनाउने उद्देश्य अनुरुप काम गरिरहेका छौँ”, वडाध्यक्ष कार्कीले भने, “गौश्वारमा निर्माणाधीन गोबर्द्धन धाम र पञ्चकोट धामको सामुन्नेमा रहेको ऐतिहासिक खड्गभवानी कोटलाई धार्मिक पर्यटकीय धाम बनाउने योजनासहित काम भइरहेको छ”, अध्यक्ष कार्कीले भने ।

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०८:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार