२०८३, कार्तिक १५ गते आइतबार

राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने कहिले रोकिन्छ - अध्यक्ष दाहाल

राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने कहिले रोकिन्छ - अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • Pushpakamal Dahal Prachanda 22l .jpg

    लमजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने  परम्परा अब तोड्न आवश्यक रहेको बताएको छ ।

    जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको आयोजनामा लमजुङको भोटेओडरमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएको हो ।

    जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता परिवार, नेता कार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको अडान स्पष्ट पारे ।

    “भ्रष्टाचार पार्टीहरूमा, सरकार र ब्युरोक्रेसीमा देखिएपछि हामीले सरकारमै रहेर सुशासनको अभियान चलाएका थियौं । मिटर ब्याज पीडितलाई न्याय दिनेगरी पहिलो पटक ऐन बनाएर समाधानको बाटो खोल्यौं,” उनले स्मरण गरे ।

    अध्यक्ष दाहालले सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उल्लेख गरे ।

    चीन भ्रमणको क्रममा १४ वटा परम्परागत नाका खोल्ने पहल भएको जानकारी दिँदै प्रचण्डले “देशभित्र सुशासन र बाहिर राष्ट्रिय हितका पक्षमा काम गर्दा राम्रो कामकै कारण संख्याको बलमा हामीलाई हटाइयो । तर हामी जनतासँगै छौं, फेरि जनताको ताकत लिएर आउने छौं,” भने ।

    अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत बैतडीदेखि लमजुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    लमजुङको कृषि सम्भावनाबारे जोड दिँदै उनले भने, “यहाँको जल, जमीन र वनको उचित सदुपयोग गर्न सके कृषिमा ठूलो प्रगति सम्भव छ । सरकारमा रहँदा हामीले कृषि र सूचना प्रविधिलाई अग्रणी क्षेत्र बनाउन खोजेका थियौं ।”

    अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने नीति अघि बढाएको र त्यसमार्फत विदेशिएका युवालाई स्वदेश फर्काई कृषि, जलविद्युत् र उत्पादन क्षेत्रमा रोजगार सिर्जना गर्न सकिने धारणा प्रस्तुत गरे ।

    “हामीले गल्ती कमजोरी सच्याउँदै आफ्नै वर्गतिर फर्कनुपर्ने देखिएको छ । त्यसैले यो अभियानमार्फत फेरि तपाईंहरूसामु आएका छौं,” उनले भने ।

    जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको, बेपत्ता परिवारलाई राहत दिनेगरी सत्यनिरूपण तथा बेपत्ता आयोगको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनपछि विशेष सुविधा दिने प्रतिबद्धता व्यक्त गरे ।

    यसअघि, भाद्र २१ गते कास्कीको रूपाबाट लमजुङ प्रवेश गर्दा रामबजारमा भव्य स्वागत गरिएको थियो । साँझ भोर्लेटारमा स्वागत सभा सम्पन्न भएको थियो । भाद्र २२ गते प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्दै श्री ईशानेश्वर माध्यमिक विद्यालय अवलोकन गरे । त्यसपछि सुन्दर बजारस्थित लमजुङ कृषि क्याम्पस र श्री भक्ति नमूना माध्यमिक विद्यालय अवलोकन गर्दै शिक्षक, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गर्नुभएको थियो।

    अध्यक्ष प्रचण्डले भने, “राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ६४ म जस्तै मत हामीलाई एक पटक दिनुस् । हामी सुशासन र सामाजिक न्याय दिन्छौं । आत्मआलोचना र आत्मसमिक्षासहित भनेको छु । अब फेरि एक पटक सेवा गर्ने मौका दिनुस्, लम्जुङका जनतालाई विकास र समृद्धि दिने संकल्प गर्दछु।”

    अध्यक्ष प्रचण्डले जनताको पक्षमा पार्टीले गरेका कामहरू जनतामाझ पुर्‍याउन नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गर्दै कार्यकर्ताले जनतालाई केन्द्रमा राखेर समर्पित रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उपाध्यक्ष महासचिवलगायतको टोली सहभागी भएका थिए ।

    Pushpakamal Dahal Prachanda 22n .jpg


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२११:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार