सप्तरी । दैनिकरूपमा खेर गइरहेको विभिन्न रुखबिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ ।
जिल्लाको सप्तकोशी नगरपालिका-१ स्थित फत्तेपुरमा रुखबाट झरेर सुकेका पात र वनका पोथ्रा रुखको हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गर्न थालिएको हो ।
रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईन्द्रप्रसाद लुइँटेलले उत्पादित मल किसानलाई निःशुल्क वितरण गर्ने योजना रहेको बताए ।
उनले वनमा खेर जाने पातपतिङ्गर जम्मा गरी मल उत्पादन गर्ने, विभिन्न जडीबुटीको बोट रोप्ने, पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गरी वन संरक्षण, स्वच्छ वातावरण र आयआर्जनसँग जोड्ने उद्देश्यले काम भइरहेको जानकारी दिए ।
जिल्ला वन र सामुदायिक वनको सहकार्यमा जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने, विभिन्न प्रजातिका बिरुवा उत्पादन र वितरण, कम्पोस्ट मल उत्पादनलगायत काम भइरहेको अध्यक्ष लुइँटेलले बताए ।
सप्तकोशी-१ स्थित फत्तेपुरमा रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको संयुक्तरूपमा साझेदारी गरी जैविक तथा सहिद पार्क निर्माणस्थल बनाइएको उनले जानकारी दिए ।
वन संरक्षण तथा पर्यावरण सुरक्षासम्बन्धी जानकारी दिँदै अध्यक्ष लुइँटेलले भने, “नमूनाका लागि यस पटकमा दस हजार किलो सुकेको र दस हजार किलो हरियो पात मिलाएर वीस हजार किलो प्राङ्गारिक मल उत्पादन गर्ने योजना छ । जैविक तथा हरित पार्कबाट वार्षिक रु. २२ लाख आम्दानी लिने लक्ष्य राखेर काम गरिरहेका छौँ ।”
उनका अनुसार यस ठाउँमा तान सय ४७ दशमलव पाँच हेक्टर क्षेत्रफलमा पार्क निर्माण, ट्रि-हाउस निर्माण, पोखरी निर्माण, गोल घर निर्माण, बाटो निर्माण, वृक्षरोपणलगायत कार्य गरेको छ ।
जिल्ला वन कार्यालयले मातहतका सव डिभिजन कार्यालयमा नर्सरी लगाएर लाखौँ बिरुवा उत्पादन गरी समुदायस्तरमा वितरण गर्दै आएको जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताए ।
उनका अनुसार खैर, अमला, लताम, सिसौ, अर्जुन, टिक मसला, मलेसियन सखुवा, तेजपत्ता, आँप, लिची, मोरिङ्गालगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेका छन् ।
सप्तरीमा कूल २१ हजार एक सय ३६ हेक्टर वनक्षेत्र रहेकामा एक सय ३७ सामुदायिक वन र छवटा सव डिभिजन वन कार्यालय रहेको जनाउँदै दासले सबै सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा वन संरक्षणका लागि योजनाबद्ध काम गर्न थालेको बताए ।
डिभिजनल वन अधिकृत दासका अनुसार जिल्लामा जल क्षेत्र तीन हजार एक सय ४३ दशमलव ९२, वन क्षेत्र २१ हजार एक सय ३६, घाँसे मैदान एक हजार चार सय ९३ दशमलव ३६, सिमसार तीन हजार नौ सय ८१ दशमलव ८७, कृषि क्षेत्र ६७ हजार छ सय ७५ दशमलव ६१, बुट्यान क्षेत्र १२ हजार छ सय ३५ दशमलव ८६, बस्ती क्षेत्र १२ हजार सात सय ६६ दशमलव एक र बाँझो क्षेत्र पाँच हजार दुई सय ६७ दशमलव ३८ रहेका छन् ।
जिल्लामा पाइने मुख्य काष्ठजन्य प्रजाति साल, अस्ना, सिसौँ, खयर, सिमल, हर्रो, बर्रो, जामुन हुन् भने लघु वन पैदावारमा च्याउ, निउरो, वेत, बोजो, भ्याकुर, दतिवन, अम्रिसो, राजवृक्ष, सिन्दुरे, थाकल, कुटमिरा, सिमसाग, लुँडे, बयर, अमला, कुरिलो, बाँसलगायत रहेको उनले जानकारी दिए ।

