२०८३, कार्तिक १५ गते आइतबार

ऐनापहरामा स्काइ वाक निर्माण

ऐनापहरामा स्काइ वाक निर्माण


  • मेरोभ्यूज
  • भाद्र ६, २०८२ शुक्रबार

  • ऐनापहरामा स्काइ वाक निर्माण

     

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण शुरु गरिएकोमा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    रु. १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।

    कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । उनले भने, “स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकोले डर मान्नुपर्ने अवस्था छैन ।”

    यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेकोले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

    पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ ।

    सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।

    शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका-२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।

    ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए ।

    उनले भने, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकोले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।”

    ऐनापहराबाट गाउँपालिकाले रु. ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ ।

    राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।

    यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परिको आकृति बनाइएको छ ।

    तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ ।

    यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार रु. दस करोड बजेट आवश्यक पर्छ ।

    डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।


    प्रकाशित : शुक्रबार, भाद्र ६ २०८२१०:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार