काभ्रेपलाञ्चोक । यहाँको पाँचखाल नगरपालिकाका छ हजार परिवारको घर-घरमा खानेपानी पुर्याइएको छ ।
पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घर-घरमै खानेपानी सुविधा प्राप्त गरेका हुन् ।
आयोजनाले गत शनिबार बिहानदेखि औपचारिकरूपमा एकैपटक छ हजार परिवारको घर-घरमा स्वच्छ पिउने पानी वितरण गरेको हो ।
निर्माणाधिन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत सम्पन्न भएको जनाएको छ ।
गत असोजको बाढीपहिरोले क्षतिग्रस्त आयोजनाको मर्मत एवं पुन:निर्माण गरेपछि पाँचखाल नगरपालिका–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याई परीक्षण सकेर औपचारिकरूपमा वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए ।
पानी प्रशोधन केन्द्रको क्षमता ३९ लाख लिटर छ । केन्द्रसँगै रहेको ओभरहेड ट्याङ्कीमा पानी जम्मा गरी लक्षित प्रत्येक बस्ती-बस्तीमा परीक्षण सकेर शनिबारदेखि सबैका घर-घरघमा खानेपानी नियमित गरेको लामिछानेले बताए ।
“वितरणका क्रममा कतै ‘फल्ट’ देखिएको भए समितिको कार्यालयमा सूचित गर्न सार्वजनिक अपिल गरिसकेका छौँ”, लामिछानेले जानकारी दिए ।
उनका अनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याई उपभोक्ताका घरमा पानी पठाएको छ ।
उपभोक्ता समितिले गत असोजमा पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले क्षति पुर्याइ धकेलेपछि विफल बनाएको हो ।
बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो । ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा रु. एक करोड ७० लाख क्षति पुगेको थियो । खानेपानी आयोजना २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरेको हो ।
दातृ निकायसँगको समन्वय छलफलमा समयावधि थप्दै आयोजना सफल बनाएकोमा समितिले औपचारिक उद्घाटन बाँकी रहेको जनाएको छ । प्रतिघण्टा तीन लाख दुई हजार चार सय लिटर पानी तान्न सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको जनाएको छ । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने आयोजनाले जनाएको हो ।
आयोजनाअन्तर्गत भौतिकतर्फ सुनकोशी किनारमा छवटा इनार, चार/चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ‘ब्याकवास ओभरहेड ट्याङ्की’, दश नयाँ वितरण ट्याङ्की, छ ‘ब्रेक प्रेसर ट्याङ्की’ तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ ।
त्यसैगरी पाँचवटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये दुई सय २० किलोमिटर पाइप लाइन सम्पन्न भएको समितिले जनाएको छ । कुल छ हजार ३७ धारा सञ्चालनमा छन् ।
शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ साल असार १५ गते अढाई वर्ष अर्थात् २०७९ साल माघमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पुर्याएकोले पटक-पटक समय थप्दा आयोजना लम्बिएको हो ।
उक्त नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरेको हो ।
रु. एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरका ३१ हजार चार सय १५ नागरिक लाभान्वित भएका हुन् ।
जसमध्ये प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने पनि प्रक्षेपण गरेको हो ।
आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् रु. ११ करोड पाँच लाख पाँच हजार तीन सय प्रतिपरिवारले रु. १८ हजारका दरले रकम बुझाएका हुन् ।
आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ विपन्न वर्गका उपभोक्ताले स्थानीय सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए ।

