२०८३, कार्तिक १५ गते आइतबार

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ  : अध्यक्ष प्रचण्ड

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ  : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  • माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ  : अध्यक्ष प्रचण्ड

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ/ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएको छ ।

    नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागद्वारा मङ्गलबार काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ/संस्थाको भूमिका बारे अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएको हो ।

    अध्यक्ष प्रचण्डले सामाजिक संघ/संस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भइ सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

    “नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघ/संस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,” अध्यक्ष दाहालले भने ।

    अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघ/संस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए ।

    माओवादीले नेतृत्व गर्ने संस्थामा जनताले फरकपन देखाएर जनतामा स्थापित हुनुपर्ने उनले बताए ।

    उनले भने, “जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुन्छन, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ/संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ ।”

    अध्यक्ष प्रचण्डले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेताकार्यकर्ता सहभागी रहेका संघ/संस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपता हुनुपर्ने बताए ।

    देशभरका स्थानीय तहको अवस्था हेर्दा त्याग र बलिदानीको इतिहासका कारण पनि माओवादीले नेतृत्व लिएका स्थानहरू नै अगाडि रहेको उनले बताए ।

    उनले भने, “माओवादी केन्द्रको त्याग, तपस्याको इतिहास र परिवर्तनका लागि लडेको इतिहासका कारण हामीले व्यवस्थित ढंगले योजनाबद्ध निर्देशन नगर्दा नगर्दै पनि स्थानीय तहमा माओवादीले नेतृत्व गरेका पालिकाहरू नै अगाडि छन । अझ व्यवस्थित गर्दा धेरै राम्रो गर्न सकिन्छ ।

    माओवादी केन्द्रले नेतृत्व गरेका संघ/संस्थाहरू फरक ढंगले चलाउँदा मात्रै हाम्रो अस्तित्व रहन्छ । त्यसले हामीले जहाँ नेतृत्व गरेका छौं, त्यहाँबाट जनताको निम्ति, राज्यको निम्ति गर्नुपर्छ र जनतालाई माओवादीले राम्रो गर्छन भन्ने स्थापित गर्न जरुरी छ ।”

    सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ठूला र परम्परावादी दलहरूको सहभागी भएका सहकारी र सामाजिक संघ/संस्थाहरूमा उनीहरूको प्रवृत्तिका कारण ठूलो स्केलमा समस्या आएको उनले बताए ।

    “अहिले सहकारीमा निकै ठूलो स्केलमा ठूला पार्टीहरू सहभागी भएर भ्रष्टाचार, बेथितिको सिर्जना भयो भन्ने कुरा निकै नै गम्भीर बनेको छ । जुन दलहरूलाई हामी संसदवादी दलाल पूँजीवादी भन्ने गर्छौं, उनीहरूका अनुसार होइन, हामीले नेतृत्व लिने संस्था फरक र माओवादीको विचार अनुसार चलाउनुपर्छ ।

    पुराना दल जसले उनीहरूकै सोच अनुसार परम्परावादी शैलीमा सामाजिक संघ/संस्था चलाइरहेका छन्, त्यसले ती संस्थाहरूमा ठूलो स्केलमा समस्या देखिएका छन ।

    माओवादीहरूले चलाउने सामाजिक संघ/संस्थाहरू वा सहभागी हुने संस्थामा आफ्नो सोच अनुसार गर्नुपर्छ । जनताले फरकपन महशुस गर्नेगरी काम गर्नुपर्ने हुन्छ,” उनले भने ।

    सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको अध्यक्ष प्रचण्डले बताए ।

    विदेशी दातृ निकायले विभिन्न संस्थामार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उनले स्मरण गरे ।

    माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताए ।


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२१०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार