२०८३, कार्तिक १५ गते आइतबार

कफीको बिरुवाको माग बढ्दो

कफीको बिरुवाको माग बढ्दो


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  • कफीको बिरुवाको माग बढ्दो

     

    गुल्मी । बर्षातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ ।

    मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्याउन मुस्किल भएको छ ।

    कफी विकास कार्यालयले किसानको मागअनुसार कफीका बिरुवा थोरै उत्पादन भएका कारण उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए ।

    मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा रहेको नर्सरीबाट यस पटक किसानहरूले दुई लाख कफीका बिरुवाको माग आएको आचार्यले बताए ।

    कफी किसानहरूले यति धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा उत्पादन भएको उनले बताए ।

    कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन गर्नुका साथै बिक्री वितरण गर्दै आइरहको छ । यहाँको नसरीमा उत्पादित बिरुवा राम्रो गुणस्तरयुक्त मानिन्छ ।

    यस पटक पनि गुल्मीसहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४० भन्दा बढी जिल्लाबाट कफीका बिरुवाको माग हुँदै आएको कार्यालयले जनाएको छ ।

    कफीका बिरुवाको माग धेरै भए पनि आवश्यक स्रोत र जनशक्तिको अभावका कारण मागअनुसार केन्द्रले बिरुवा उत्पादन गर्न सकिरहेको छैन ।

    मुसिकोट नगरपालिका–५ अन्तर्गत आँपचौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको सङ्घीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको स्रोत केन्द्र पनि हो ।

    तत्कालीन राजा वीरेन्द्रले वि.सं. २०४१ मा आँपचौरमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिकरुपमा कफीखेती गर्न सुरु गरेका थिए ।

    कफी विकास केन्द्रमा प्रतिबिरुवा अहिले रु. ४० मा बिक्री हुँदै आएको छ ।

    कफी विकास केन्द्रले बगैँचा व्यवस्थापन, बीउ उमार्ने, टिप्ने र प्रशोधन गर्नेलगायतका काम गर्दै आएको छ ।

    यसका लागि कफी उत्पादन हुने समयमा ४० देखि ५० जना व्यक्तिले अस्थायी रुपमा रोजगारी पाउने गरेका छन् ।

    केन्द्रमा कफी पल्पिङ मेसिन, कफी हलर मेसिन, कफी ड्रयार, रोस्टर मेसिन र कफी स्प्रे सो मेसिनसमेत उपलब्ध छ ।

    कफी बगैँचा स्थापना गर्नका लागि केन्द्रले आँपचौरमा अहिले १८४ रोपनी जग्गा खरिद गरेको छ ।

    उक्त बगैँचामा यतिबेला १२ हजार कफीका बिरुवा लगाई सकिएको कार्यालय प्रमुख आचार्यले बताए ।

    कफीको जननी जिल्ला गुल्मीको आँपचौरमा कफी बगैँचा विस्तार गर्ने उद्देश्यले अहिले छ वटा नर्सरीमा ६० हजार कफीका बिरुवा रोपेको छ ।

    पछिल्लो समयमा किसानलाई कफीमा लाग्ने सेतो गबारो मुख्य समस्या बन्दै गइरहेको छ ।

    सेतो गबारोका कारण जिल्लामा १५ प्रतिशत कफीका बोट नष्ट हुने अवस्थामा रहेका छन् ।

    जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समय-समयमा कफीमा देखिने सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटहरूमा क्षति पुग्ने गरेको किसानहरुको गुनासो छ ।

    गुल्मीमा अहिले करिब तीन सय हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ ।

    गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीयतहले कफीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२०९:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार