२०८३, कार्तिक १५ गते आइतबार

टरुवा ताल संरक्षण

टरुवा ताल संरक्षण


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  • टरुवा ताल संरक्षण

     

    नवलपरासी । जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ ।

    ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै संकटमा पर्न थालेसँगै सफाइ कार्य सुरु गरिएको हो ।

    पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार सात सय १३ वर्ग मिटर रहेको छ ।

    ताललाई जलकुम्भीसहितका झारले ढाकेर हरियो चौर जस्तो देखिने अवस्थामा पुगेपछि कावासोती नगरपालिकाले यसको सफाइ थालेको हो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तालको सफाइ काम सुरु गरिएको रोजगार शाखा कावासोतीका रोजगार संयोजक प्रतिक्षा पौडेलले जानकारी दिए ।

    रोजगार सिर्जनासँगै तालको सफाइको काम हुने भएकाले जनशक्ति परिचालन गरिएको उनले बताए ।

    नियमितरूपमा तालको सफाइको काम हुन नसकेको अवस्थामा अहिले रोजगार शाखाद्वारा जनशक्ति परिचालन गरी सफाइको काम थालिएको हो ।

    दैनिकरूपमा करिब पच्चिस जनाको हाराहारीमा जनशक्ति ताल सफाइमा जुटेका छन् ।

    ‘बेरोजगारको सूचिमा नाम टिपाएकालाई केही दिन रोजगारमा जोड्ने गरी ताल सफाइमा जुटेका हौँ, यसले ताललाई पुरानो अस्तित्वमा फर्काउन सहयोग पुग्ने विश्वास छ’ कार्यक्रम संयोजक पौडेलले बताए ।

    केही वर्ष अघिसम्म ताल सफा रहेको थियो । नियमित सफाइ नगर्दा ताललाई जलकुम्भी र झारले ढाक्दै गएको हो ।

    टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् ।

    यसलाई जोडेर एकिकृतरूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए ।

    पूर्व-पश्चिम राजमार्गबाट करिब एक किलोमिटरमा रहेको प्राकृतिकरूपमा सुन्दर ठाउँ भएकाले यसको संरक्षणमा थप काम गर्नुपर्ने अध्यक्ष महतोले जानकारी दिए ।

    हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती–२, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा टरुवा तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।

    सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर निर्माण कार्य समेतमा प्रयोग गर्ने गर्दथे ।

    टरुवा ताल भएकै कारण पानीको उपलब्धता भएको र हालको कावासोती बजारको रूपमा विकास भएको भन्ने धारणा रहिआएको छ । यस कारण पनि ताललाई ऐतिहासिक टरुवा तालको संज्ञा दिने गरिएको छ ।


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२०९:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार