२०८३, कार्तिक १५ गते आइतबार

“कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो” - अध्यक्ष प्रचण्ड

“कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो” - अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • श्रावण १२, २०८२ सोमबार

  • Pushpakamal Dahal Prachanda 10a .jpg

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हालै काठमाडौं, सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्र बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक संगठनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले वर्तमान सत्ता र प्रतिपक्ष दुबैप्रति कडा टिप्पणी गरे ।

    अध्यक्ष प्रचण्डले विशेषगरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भने, “शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्‍यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए । माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरु अपमानित हुन पर्दैन थ्यो ।”

    अध्यक्ष प्रचण्डले पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे ।

    “सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनु पर्यो, आन्दोलनमा रहे । तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,” प्रचण्डको भनाइ थियो ।

    शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उनले संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाउँदै भने, “हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा षडयन्त्र गरिएको छ ।”

    अध्यक्ष प्रचण्डले संघीय निजामति सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिकरूपमा जोड्दै “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो,” भन्ने टिप्पणी गरे ।

    उनले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताए ।

    राजनीतिक संकटबारे चर्चा गर्दै प्रचण्डले कांग्रेस र एमाले दुबै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत जानकारी दिए ।

    “एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ,” उनले भने । अध्यक्ष ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत उनले आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको उनको भनाइ थियो ।

    अध्यक्ष दाहालले माओवादी केन्द्र भने अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताउँदै भने, “हामी अहिले आठौं महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा छौं । यही वैचारिक स्पष्टता हाम्रो बल हो । अहिले माओवादी केन्द्र मात्रै यस्तो पार्टी हो जहाँ बैचारिक राजनीतिक नेतृत्वको संकट छैन ।”

    Pushpakamal Dahal Prachanda 10b .jpg


    प्रकाशित : सोमबार, श्रावण १२ २०८२११:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार