२०८३, कार्तिक १५ गते आइतबार

विकट गाउँ पात्लेका एक सय २२ घरपरिवारलाई खानेपानी सुविधा

विकट गाउँ पात्लेका एक सय २२ घरपरिवारलाई खानेपानी सुविधा


  • मेरोभ्यूज
  • श्रावण ६, २०८२ मंगलबार

  • विकट गाउँ पात्लेका एक सय २२ घरपरिवारलाई खानेपानी सुविधा

    म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु. ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् ।

    उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घर-घरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ ।

    नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको रु. ३३ लाख ३७ हजार तीन सय २५ र मालिका गाउँपालिकाको रु. १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले रु. १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन् ।

    पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चारवटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए ।

    म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए । करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो ।

    स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएएपछि उपभोक्तामा खुसीयाली छाएको छ ।

    धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ । पानीको मितब्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ ।

    मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए ।

    डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।


    प्रकाशित : मंगलबार, श्रावण ६ २०८२१०:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार