तनहुँ । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे)मार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन् ।
प्रचार-प्रसारको अभावमा म्याग्दे गाउँपालिका–६ स्थित मनपाङ गाउँ ओझेलमा परेपछि स्थानीय घरबास सञ्चालन गरी पर्यटकीय गतिविधिमार्फत पर्यटन प्रवर्द्धनमा जुटेका हुन् । सुरुवाती चरणमा आठवटा घरमा घरबास सञ्चालन गरिएको छ ।
पृथ्वीराजमार्गस्थित थर्पुबाट २५ मिनेटको कच्ची बाटोमा यात्रा गरेपछि मनपाङ गाउँ पुगिन्छ ।
समुद्री सतहबाट एक हजार ५० मिटरमा उचाइमा अवस्थित मनपाङबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वीराजमार्गको सडक, सदरमुकामस्थित दमौली बजार, शुक्लागण्डकीका विभिन्न ठाउँका मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
गुरुङ बस्तीको मनपाङमा वीस घर रहेकोमा पहिलो चरणमा आठ वटाबाट घरबास सञ्चालनमा ल्याइएको मनपाङ सामुदायिक घरबासका अध्यक्ष सोनी गुरुङले जानकारी दिए ।
पर्यटनको सम्भावना भएर पनि ओझेलमा परेकाले प्रचार-प्रसारसँगै घरबासमार्फत आयआर्जन गर्ने उद्देश्यले पालिकाले प्रोत्साहन गरेपछि पहल थालिएको उनले बताए ।
उनले भने, “सहर र गाउँलाई जोड्न घरबास सञ्चालन गरेका छौँ । हालै सुरुवात भएकाले आन्तरिक पाहुना आउने क्रम भइरहेको छ । यहाँ पर्यटकीय पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धनका लागि पहल थाल्ने छौँ ।”
गर्मीयाममा शीतलताको अनुभवसँगै यहाँबाट देखिने दृश्यावलोकनले पाहुनालाई लोभ्याउने गरेको गुरुङले विश्वास व्यक्त गरे ।
उनले भने, “यहाँबाट सुन्दर र रमणीय दृश्य देखिनुका साथै पर्यटकले स्थानीय परिकारका स्वादको अनुभूति पाउन सक्छन् । सहरमा गर्मी हुँदा पनि मनपाङ गाउँ उक्लिएपछि शीतलाको अनुभव लिन सकिन्छ ।”
घरबासका सञ्चालक दिलबहादुर गुरुङले एक रात बसेको रु. एक हजार दुई सय निर्धारण गरिएको जानकारी दिए । उनका अनुसार राति आउने पाहुनालाई स्वागतसँगै गुन्द्रुक, भटमास, मकै दिने गरिएको छ भने रातिको खाना, बास र बिहानको खाजाको व्यवस्था गरिएको छ ।
उनले भने, “हामी घरबासलाई व्यवस्थित गर्दै पूर्वाधार थप्ने क्रममा छौँ । अहिले घरबासमा ३० जनाको क्षमता छ ।”
म्याग्दे–६ का वडाध्यक्ष हिरालाल गुरुङले मनपाङ बाइसे-चौबिसे राज्यको पालाको एउटा कोट भएकाले यसको प्रचार-प्रसारसँगै प्रवर्द्धनका लागि पहल थालिएको बताउ ।
उनले भने, “यस ठाउँमा पर्यटक कसरी ल्याउने भनेर छलफल हुँदा घरबास उपयुक्त हुन्छ भन्ने लागेर सुरुवात गरेका छौँ । घरबास सञ्चालन गरेर यहाँ पाहुना भित्र्याउने र स्थानीयको आयआर्जन बढाउने तयारी गरिरहेका छौँ ।”
मनपाङमा थानीमाई मन्दिर, कालभैरव मन्दिर छन् । धार्मिकरूपमा पनि यस ठाउँ प्रख्यात रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । उनका अनुसार नवमीको दिनमा थानीमाई मन्दिरमा विशेष पूजा हुने गर्दछ ।
“मनपाङबाट चारैतिरको दृश्य हेर्नका लागि तीन वटा दृश्यावलोकन बिन्दु बनाइएको छ । दृश्यावलोकन बिन्दुसम्म पुग्न ढुङ्गा छापेर पैदलबाटो निर्माण गरिएको छ”, उनले भने ।
मनपाङसम्म पुग्ने बाटो कच्ची भएकाले स्तरोन्नतिका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
पालिकाको समपुरक कोषबाट रु. एक करोड बजेट विनियोजन गरी बाटोको स्तरोन्नती गरिरहेको उनको भनाइ छ ।
उनले भने, “मनपाङको सौन्दर्यताले पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालनमा ल्याएका छौँ । घरबाससँगै थप पर्यटन पूर्वाधार निर्माण गरेर यस ठाउँको प्रचार-प्रसार र प्रवर्द्धनमा जुटेका हौँ ।”

