२०८३, कार्तिक १५ गते आइतबार

दरबारको पुनःनिर्माण

दरबारको पुनःनिर्माण


  • मेरोभ्यूज
  • आषाढ २५, २०८२ बुधबार

  • दरबारको पुनःनिर्माण

    बागलुङ । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुन:निर्माण सुरु गरिएको छ भने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छ ।

    संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ ।

    बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ ।

    संसारकोट दरबारको पर्खाल पुन:निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् ।

    नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेका थिए ।

    समुद्री सतहबाट दुई हजार चार सय ९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको रु. ३६ लाख बजेटबाट पुन:निर्माण भइरहेको छ ।

    निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर कार्कीका अनुसार अहिलेसम्म भग्नावशेष दरबारको पर्खाल पुनःनिर्माण, संसारकोट पुग्ने पदमार्ग, सत्तललगायत संरचनामा रु. एक करोड बराबरको पूर्वाधार निर्माण भइसकेको छ ।

    वि.सं. २०७७ मा पुरातात्व विभागले रु. ३० लाख बजेटमा दरबारको पर्खाललाई पुनःनिर्माण थालिएकोमा २०७९ सालमा रु. वीस लाख बजेट थप विनियोजन गरिएको थियो ।

    विभागले ढुङ्गा कुँदेर कलात्मक ढङ्गले रु. ५० लाख बजेटबाट ५० मिटर ढुङ्गाको मात्र पर्खाल लगाइएको थियो ।

    अहिले पर्यटन मन्त्रालयको रकमबाट वीस मिटर पर्खाल थप निर्माण र भगवतीको मन्दिर बनिरहेको छ, मन्दिर ढुङ्गा र काठको मात्र प्रयोग गरी निर्माण गरिएको छ ।

    संसारकोटमा प्यागोडा शैलीको मोक्षदेवी भगवती मन्दिर, कलात्मक पर्खालको पुनःनिर्माण, सत्तल, खानेपानीका लागि आवश्यक पूर्वाधार तथा त्यहाँ पुग्ने पदमार्ग निर्माणले पछिल्लो समय धार्मिक पर्यटक आकर्षित गरेको छ । संसारकोटमा अहिले विद्युतसमेत पुर्याइएको छ ।

    तीन वर्षअघि खसगाउँबाट थाप्लोसम्म चार सय मिटर पदमार्ग, अर्को वर्ष संसारकोटबाट सम्मेनीसम्मको पदमार्ग, खसगाउँ चौपारीबाट सम्मेनीसम्म र रामाइलो डाँडा गरी झण्डै चार किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ ।

    अहिले खसगाउँबाट र संसारकोटको बीच भागमा पदमार्ग बनाउन बाँकी रहेको कार्कीले जानकारी दिए ।

    पदमार्गको बीच–बीचमा चार वटा चौतारीसमेत निर्माण भइसकेका छन् । पर्यटन प्रवर्द्धन कार्यक्रम तथा पुरातात्विक स्थलको संरक्षण, मर्मत र जीर्णोद्वार कार्यक्रमले संसरकारकोटको मुहार फेरिँदै गएको छ ।

    जिल्लाको ऐतिहासिक पर्यटकीयस्थलका रूपमा परिचित संसारकोट बागलुङको पाला, मूलपानी, मालिका, भीमपोखरा, धम्जा र म्याग्दीको ज्यामरुककोट, गौश्वरा तथा अर्कोतर्फ भकिम्ली समेतको जङ्गलको धुरीमा पर्छ ।

    संसारकोट, ऐतिहासिक पर्यटकीय र सांस्कृतिक महत्व बोकेको क्षेत्रमा तत्कालीन बाइसे/चौबिसे राज्यअन्तर्गत पर्वते राजाले शासन गर्ने गरेको बुढापाकाले बताउने गरेको स्थानीय तेजप्रसाद न्यूरेले जानकारी दिए ।

    उनले बागलुङ ६ र ७ नम्बर वडामा तारजालकोट, कारिकोट, माझकोट, राँयकोट र शिरमा संसराकोट रहेकाले अहिले सबैको सङ्गमस्थलका रुपमा पञ्चकोटको नामकरण गरेर धार्मिक पर्यटकसमेत भित्र्याइरहेको छ ।

    संसारकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे र धवलागिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।


    प्रकाशित : बुधबार, आषाढ २५ २०८२०९:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार