२०८३, कार्तिक १५ गते आइतबार

तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण


  • मेरोभ्यूज
  • आषाढ २४, २०८२ मंगलबार

  • तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

    मुस्ताङ । मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुवात गरिएको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप)द्वारा संयुक्तरुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका हुन् ।

    एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्चलेंक, खर्क, पाटन र जङ्गललगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको जानकारी दिए ।

    यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको छ । समुन्द्री सतहको तीन हजार मिटर उचाइदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो ।

    एक्यापले राखेको क्यामेरामार्फत हिउँ चितुवालगायत अन्य वन्यजन्तुको गतिविधि क्यामेराले रेकर्डमा राख्ने सुविधा रहेको कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

    क्यामेरामा वन्यजन्तुको श्रव्यदृष्य रेकर्ड राख्ने प्रविधि भएकाले हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणमा सहज हुने कार्यालय प्रमुख गुप्तले जानकारी दिए ।

    एक्यापले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, जोमसोम लेंक र मार्फाको बतासे लेंकलगायतको उच्चस्थानमा हिउँ चितुवा र आहारा प्रजातिको संरक्षण तथा अनुगमन गर्न क्यामेरा ट्यापिङ सुरु गरेको एक्याप जोमसोमका वन रेञ्जर दीपक ओलीले जानकारी दिए ।

    सर्वेक्षणका लागि ४५ दिनसम्म क्यामेरा ट्यापिङ गर्ने गरी व्यवस्थापन गरेको वन रेञ्जर ओलीको भनाइ छ । यसरी सर्वेक्षणका लागि राखिएका क्यामेरा पाँच किलोमिटरको दूरीमा राखिएको उनले जानकारी दिए ।

    एक्याप जोमसोमले यसपटक हिउँ चितुवाको सर्वेक्षणका अलावा आहार प्रजाति र हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ क्रसलाई क्यामेरा ट्यापिङमार्फत अध्ययन गर्ने जनाएको छ ।

    “हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको छकी छैन, हिउँ चितुवा कति तलसम्म झर्ने गरेको छ र चितुवाको कति माथिल्लो उचाइसम्म पुग्ने गरेको छ, त्यसको विवरण क्यामेरा ट्यापिङबाट अध्ययन गरिनेछ”, वन रेञ्जर ओलीले जानकारी दिए ।

    क्यामेरा ट्यापिङमार्फत आहार प्रजातिको अवस्था कस्तो छ त्यसको विस्तृत अध्ययन हुने वन रेञ्जर ओलीले उल्लेख गरे ।

    एक्यापले गतवर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि दर्जनौँ क्यामेरा राखेर ट्यापिङ गरेको थियो ।

    तल्लो मुस्ताङमा गत वर्ष आशिंक क्यामेरा ट्यापिङ गरिएकाले यसवर्ष विस्तृत तरिकाले समेट्ने गरी ट्यापिङ सुरु गरिएको एक्याप जोमसोमको भनाइ छ ।

    एक्यापले यसरी हिउँ चितुवा तथा अन्य वन्यजन्तुको गतिविधिलाई सर्वेक्षण गर्न राखिएका क्यामेराको माध्यमबाट मुस्ताङका उच्च लेंक, खर्क र पाटनमा हुने सम्भावित वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा योगदान पुर्याउने एक्यापको भनाइ छ ।

    जिल्लाका उच्च लेंक तथा पाटनमा यार्सा टिप्ने सिजन सुरु भएकाले उच्च लेंक तथा पाटनमा हुने अवान्छित गतिविधिलाई क्यामेरा ट्यापिङले ठूलो सघाउ पुर्याउने जनाइएको छ ।

    एक्याप जोमसोमले सुरु गरेको हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षणका लागि एक्याप वन रेञ्जर ओलीलगायत अन्य एक्यापका कर्मचारीहरु कार्यस्थलमा खटिएका छन् ।


    प्रकाशित : मंगलबार, आषाढ २४ २०८२१०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार