स्याङ्जा । यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेको हो ।
उनले वि.सं. २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेको थियो । पछिल्लो समय गुरुङले दूधबाट चिज उत्पादन गरिरहेको छ । यहाँ अन्य किसानले पनि गाईभैँसीको दूधबाट चिज उत्पादन गरिरहेका बेला ओकादीका गुरुङले भने जिल्लामै पहिलो पटक बाख्राको दूधबाट चिज उत्पादन गरेको हो ।
गुरुङको फर्ममा हाल सानाठूला गरी ५२ वटा बाख्रा छन् । यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएका बाख्राहरू हुन् ।
तीमध्ये १६ वटाले करिब दस लिटर दूध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एकदिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिए ।
“यहाँ उत्पादन भएको चिज पोखराका ठूला होटलहरूमा बिक्री गरिरहेको छु । प्रति केजी रु. दुई हजारका दरले चिज बिक्री हुने गरेको छ । सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक एक सय ५० के.जि. चिज बिक्रीबाट रु. तीन लाखसम्म आम्दानी गरिरहेको छु”, उनले भने,“चिजको माग उच्च छ, पुर्याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्नका लागि दुधालु बाख्रा थप्ने तयारीमा छु ।”
बाख्राको दूधबाट चिज बनाउने सिप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए । त्यहाँ सिकेको सिपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उनी व्यावसायिक उत्पादन गर्न थालेको बताए । हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले जानकारी दिए ।
विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किएको थियो । त्यही सोचका साथ वि.सं. २०७० मा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो ।
“बाख्रा खरिद तथा खोर निर्माणमा रु. तीन लाख ५० हजार लगानी गरेका थिए । युवाहरूका लागि नमूना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेका थिए हाल महिनामै सुरुको लगानी जस्तै आम्दानी गरिरहेको छु”, गुरुङले सुनाए ।
नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताए ।
“केही फरक सोचसहित काम गरेमा नेपालमै प्रशस्त सम्भावना छ । धेरैलाई बाख्राको दूध पनि उपयोग गर्न सकिन्छ भन्ने थाहा पनि छैन तर उनले हाम्रै अभियानबाट त्यसको प्रयोग विधि सिकेर राम्रो गरिरहेको छ”, उनले भने ।

