२०८३, कार्तिक १५ गते आइतबार

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री


  • मेरोभ्यूज
  • आषाढ १८, २०८२ बुधबार

  • फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री

    दाङ । देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरू गरेको छ ।

    फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरू भएको हो ।

    राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन सुरू गरिएको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुरूप स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक, इँटालगायत सामग्री उत्पादन गर्न थालिएको हो ।

    राप्ती गाउँपालिका र इको फ्यामिली प्राइभेट लिमिटेड हेटौँडाको सहकार्यमा फोहोरलाई व्यवस्थापन गरेर नगल्ने फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रा.लि.का सुपरभाइजर लालबहादुर चौधरीले बताए ।

    सुपरभाइजर चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्कालगायत प्लास्टिकबाट टायल, इन्टरलक, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको छ ।

    उत्पादित टायलको मूल्य रु. ३५ तोकिएको छ । यद्यपि गाउँपालिका भित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको गाउँपाकिलाले जनाएको छ ।

    लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको राप्ती गाउँपालिकामा फोहोर व्यवस्थापनको चुनौती बढ्दै गएपछि गाउँपालिकाले नीति नै बनाएर दीर्घकालीन योजना बनाएको गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको भनाइ छ ।

    विक्रम संवत् २०७९ भदौमा भएको सम्झौताबमोजिम गाउँपालिकाले फोहोर सङ्कलन गरेर स्रोत केन्द्रसम्म पुर्‍याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम उक्त कम्पनीले गरिरहेको छ ।

    स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियानअन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादनका लागि गाउँपालिकाले रु. दुई करोड वीस लाख बढी लगानी गरिसकेको उपाध्यक्ष चौधरीले बताइन ।

    उक्त रकमबाट जग्गा तार बार तथा स्रोत केन्द्रका लागि दुईवटा घर निर्माण गरिएको छ । कम्पनीले यहाँ प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिनेगरी सहमति भएको छ ।

    नौवटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्र्याक्टर फोहोर सङ्कलन हुँदै आएको छ । फोहोर सङ्कलनदेखि वर्गीकरणसम्मको काम गर्न १८ जनाले रोजगारी पाएका छन् । जसमा आठजना कम्पनीका तर्फबाट राखिएको छभने दस जना गाउँपालिकाका तर्फबाट राखिएको छ ।


    प्रकाशित : बुधबार, आषाढ १८ २०८२११:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार