२०८३, कार्तिक १५ गते आइतबार

श्रममन्त्री वैदेशिक रोजगारी मात्र होइन, यो सम्मान र अधिकारको विषय होः श्रममन्त्री भण्डारी

श्रममन्त्री वैदेशिक रोजगारी मात्र होइन, यो सम्मान र अधिकारको विषय होः श्रममन्त्री भण्डारी


  • मेरोभ्यूज
  • आषाढ ७, २०८२ शनिबार

  • Sharadsingh Bhandari Labour Minister Ktm 6b .jpg । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन ।

    काठमाडौंमा शुक्रबार आयोजित श्रम प्रवाशन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुपक्षीय सरोकारवाला नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले विदेशमा रहेका श्रमिकहरूको पक्षमा सरकारको सक्रियता र भावी योजना प्रस्तुत गरेका थिए ।

    उनले हालै जेनेभामा सम्पन्न ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाल फर्किएको जानकारी दिदैं सम्मेलनको क्रममा श्रम तथा आप्रवासन क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय निकायहरूसँग भएका छलफलहरू सकारात्मक रहेको उल्लेख गर्दै ती संस्थाहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।

    मन्त्री भण्डारीले व्यापार, अप्रवासन र मानवअधिकारबीचको अन्तरसम्बन्धलाई विशेषरूपमा जोड दिदैं जिम्मेवार व्यापार अभ्याससँगै श्रमिकको मानवअधिकारको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताए । उनले नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति लिइएको जिकिर गरे ।

    मन्त्री भण्डारीका अनुसार, वैदेशिक रोजगारी केवल आम्दानीको स्रोत मात्र नभइ श्रमिकको गरिमा र अधिकारको विषय हो, हाम्रा महिला र पुरुष श्रमिकहरूले श्रम गन्तव्य मुलुकहरूको विकासमा उल्लेखनीय योगदान दिइरहेका छन् । ती मुलुकहरूले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन सुनिश्चित गर्न ग्लोबल कम्प्याक्टको मर्म अनुसार व्यवहार गर्नुपर्छ, उनले भने ।

    हाल द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर मन्त्रालयले आपत्कालीन उद्धारको तयारी गरिरहेको जानकारी पनि उनले दिए । उनले भने, ‘धेरै नेपालीहरू बम बंकरमा रात बिताइरहेका छन, यदि स्थिति थप जटिल भयो भने उद्धारका लागि सरकार तयार छ ।’

    उनले हाल विभिन्न मुलुकहरूमा अवैधरूपमा रहेका सयौँ हजार नेपालीहरूलाई वैध बनाउने पहल भइरहेको जानकारी पनि दिए । यसका लागि विशेष गरेर महिला श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री भण्डारीले बताए ।

    जलवायु परिवर्तनको प्रभाव श्रम अप्रवासनमा कसरी परिरहेको छ भन्ने विषयमा गहन छलफल आवश्यक रहेको मन्त्री भण्डारीले जोड दिए ।

    उनले श्रम, रोजगारा तथा सामाजिक सुरक्षा मन्त्तालयले आफ्ना सबै कार्यक्रमहरूमा जलवायु विषयवस्तुलाई समावेश गर्दै आएको जानकारी दिए ।

    मन्त्री भण्डारीले मानव अधिकारको रक्षा र श्रमिकको मर्यादा सुनिश्चित गर्न कुनै सम्झौता नगर्ने जिकिर गर्दै मानवअधिकारप्रति हाम्रो समर्थन पूर्णरूपमा अविचलित रहेको बताए ।

    उनले सबै सरोकारवालासँग सहकार्यमा आधारित साझा प्रयासबाट मात्र सुरक्षित, मर्यादित र नियमित श्रम प्रवासन सम्भव हुने उल्लेख गर्दै सबैलाई साथ र सहयोगको लागि आव्हान गरे ।Sharadsingh Bhandari Labour Minister Ktm 6a.jpg


    प्रकाशित : शनिबार, आषाढ ७ २०८२०७:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार