२०८३, कार्तिक १५ गते आइतबार

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप


  • मेरोभ्यूज
  • आषाढ ३, २०८२ मंगलबार

  • सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

    सोलुखुम्बु । बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेर्स्याएका थिए ।

    कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद गर्दै थिए ।

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवर्द्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब दुई सय जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए ।

    ‘स्पार्क कार’को आयोजनामा सञ्चालित ‘स्पार्क एड्भेञ्चर’ कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई यहाँसम्म ल्याएको थियो । प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार-प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरु सोलुखुम्बु आइपुगेका थिए ।

    “स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार-प्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लमजुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो, यस पटक गौरीटाप रोजाइमा पर्यो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले जानकारी दिए ।

    निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्र सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचार-प्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नकसेको उनको भनाइ छ ।

    समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट दुई सय ३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थान भएको लामो समयदेखि गौरीटापमा रहेका लौरेश्वर बाबाले बताए ।

    “माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको र सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उनले भने ।

    चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, ल्होत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ ।

    लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् ।

    नेपाली चलचित्रका अभिनेता राजेश हमालले गौरीटाप अत्यन्तै सुन्दर र रमणीय स्थान रहेको उल्लेख गर्दै यहाँ आउनपाउँदा खुसी लागेको बताए ।

    “काठमाडौँदेखि गौरीटापसम्म सहज यात्रा गर्दै यहाँ आइपुगेका थियौँ, यहाँबाट देखिने सगरमाथालगायतका हिमाल र सूर्योदयको दृश्य निकै सुन्दर लाग्यो, यहाँको पर्यटन प्रवर्द्धन गर्न आवश्यक सहयोगका लागि म सबैलाई आह्वान गर्दछु”, उनले भने ।

    गौरीटापमा अघिल्लो टेन्टक्याम्पिङ गर्दै रमाइलो गरेपछि शनिबार दिउँसो उक्त टोली ओखलढुङ्गाको रुम्जाटार झरेको थियो । उक्त टोलीलाई रुम्झाटारमा स्थानीय पालिकाका जनप्रतिनिधिका साथै गुरुङ, राई, नेवारलगायतका समुदायले स्वागत गरेका थिए । रुम्जाटारस्थित बौद्ध गुम्बामा स्वागत गरिनुका साथै गुम्बाबारे आवश्यक जानकारी दिइएको थियो ।

    शनिबार साँझ कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मङ्गोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए ।

    उनीहरुले सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवर्द्धन गर्न आग्रह गरे । उनीहरुले ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित रहेको उल्लेख गर्दै यसैमार्फत यहाँको प्रचार-प्रसार गर्न सकिने बताए ।

    बि.बि.सी मास्टरसेफ सन्तोष साहले यहाँको रैथाने परिकार खान पाउँदा निकै खुसी लागेको बताए । “विशेष गरी गुन्द्रुक र न्यूरोको अचारको स्वाद निकै मीठो लाग्यो, यहाँसम्म आएर यहाँको कला र संस्कृति, भूगोल जान्न पाउनुलाई मैले ठूलो उपलब्धि मानेको छु”, उनले जानकारी दिए ।

    गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीपाखीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडीपाखी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पुर्याइन्थ्यो ।


    प्रकाशित : मंगलबार, आषाढ ३ २०८२१०:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार