मुस्ताङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुस्ताङ जिल्लाका विभिन्न पालिकाका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमरूपमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना रहेको बताए । उनले भने, “हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ । जनताका समस्या बुझेका छौँ र अब समाधानमा इमान्दारीपूर्वक लाग्न आवश्यक छ।”
अध्यक्ष प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूसँग फरक रहेको स्पष्ट गर्दै भने, “माओवादी अरुजस्तो पार्टी होइन । हामी जनताको हितका लागि काम गर्छौं । तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।”
कार्यक्रममा प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरुलाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिए ।
“हामी यहाँ केही उद्देश्य लिएर आएका छौँ,” अध्यक्ष प्रचण्डले भने, “मुख्य उद्देश्य भनेको मुस्ताङलाई कसरी अघि बढाउने भन्ने हो । विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध छ ।”
कार्यक्रममा सहभागी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि आफ्नो कार्यकालमा विकासका कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकामा माओवादी केन्द्रको नेतृत्व गर्ने अध्यक्ष, उपाध्यक्ष, पार्टी सदस्य्हरूलगायत स्थानीय बासिन्दाको समेतको उपस्थिति रहेको थियो ।
मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत अध्यक्ष प्रचण्डले बताएको छ ।

