२०८३, कार्तिक १५ गते आइतबार

आर्थिक समृद्धि खोज्दै दाङका महिला

आर्थिक समृद्धि खोज्दै दाङका महिला


  • मेरोभ्यूज
  • जेठ १८, २०८२ आइतबार

  • आर्थिक समृद्धि खोज्दै दाङका महिला

    दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छन् । समूहमा रहेका वीस जनाले सामूहिक खेती गर्ने गरेको उनले बताए ।

    उनले भने, “नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।” सोही कार्यालयले वीस जनालाई रु. वीस हजारका दरले बीउपूँजी सहयोग गरेको उनले बताए ।

    “समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उनले भने । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु. दस लाख बजेट सहयोग गरेको उनले बताए ।

    जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताए ।

    उनले भने, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”

    घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेको छ । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो । मौरीपालन तालिमपछि व्यावसायिकरुपमा पालन सुरु गरेको उनले बताए ।

    अहिले उनीसँग दस घार मौरी छन् । उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियो । रु. पाच सयदेखि रु. छ सय प्रतिकिलोमा बिक्री गरेको उनले बताए ।

    गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनले बताए । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुन् । उनी प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेको छ । समूहमा आबद्ध भएपछि उनले च्याउखेतीको तालिम लिए ।

    उनले समूहमा आबद्ध भएपछि रु. ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरे । चार सय लोकल कुखुरा र दुई हजार पाच सय गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताए ।

    समूहले आम्मनिर्भर बनाएकोले यसैलाई निरन्तरता दिने उनले बताए । उनीहरुको ३० जनाको समूह छ । उनका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।

    घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताए । “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उनले भए ।

    पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकोले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उनले आग्रह गरे । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरे ।

    मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष चार सय ६५ जनालाई सहयोग गरेको बताए । उनले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ ।

    लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताए । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिए ।


    प्रकाशित : आइतबार, जेठ १८ २०८२०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार